प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बुधबार पनि नागरिकता विधेयक पारित गर्न सकेन । बैठकमा विवाद अन्त्य गर्नका लागि गृहमन्त्री राम बहादुर थापाले ५ दिनको समय माग गरेपछि नागरिकता बिधेयक पारित हुन नसकेको हो ।
सिंहदरबारमा बुधबार बसेको बैठकमा गृहमन्त्री थापाले नागरिकता विवादमा राजनीतिक र सरकारलाई थप छलफल गर्नुपर्ने अवस्था आएकाले थप समय माग गरेका हुन् । यसअघि मंगलबारको समिति बैठकमा सभापति शशी श्रेष्ठले नेपाली पुरुषसँग बिहे गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् । गृहमन्त्री थापाले यसबीचमा अंगीकृत नागरिकताका विषयमा आएको नयाँ प्रस्तावमाथि राजनीतिक सहमति जुटाउने प्रयास गर्ने धारणा राखे। उनले यस बिषय गम्भीर भएकाले सहमतिमा टुङ्ग्याउनेपनि बताए ।
https://www.facebook.com/himaldainik/videos/946685175761135/?t=1
समिति सभापति शशि श्रेष्ठले नागरिकता बिधेयकमा छलफल गर्न सरकारले नै समयमाग गरेको भन्दै यहि अधिवेशनमा नै बिधयेक लैजाने गरि सहमति खोज्न आग्रह गरिन् । उनले छिटो भन्दा छिटो सहमति खोज्न सरकारले पहलकदमी लिनुपर्ने बताईन ।
बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडुले अंगीकृत नागरिकता दिन समयावधि राख्न नहुने अडान कायमै रहेको भन्दै यस बिषयमा थप सहमति खोज्नुपर्ने बताए ।
यसअघि नेपाली पुरुषसँग बिहे गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थाका बारेमा सत्तापक्षका समिति सदस्यहरु सहमत भए पनि कांग्रेसले पार्टीमा छलफलका लागि समय मागेको थियो । कांग्रेसले संविधानमा बिहे गरी आएपछि जन्मेको देशको नागरिकता छोडेको हुनुपर्ने व्यवस्था भएकाले समयावधि राख्न आवश्यक नहुने निष्कर्ष निकालेको छ । लामो समयदेखि बिचाराधिन रहेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको यहि अधिवेशनमा पेश गर्ने समितिको तयारी छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय