कोरोना महामारीको समयमा सरकारको काम कारबाही र गतिविधिप्रति रुष्ट बनेर सडकमा ‘इनफ इज इनफ’को नारा लगाउँदै उत्रिएका जनताको आवाजबाट सरकार र सरकारको नेतृत्वलाई व्युँझिएर लोकलाज बचाउन नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार (राजन) केसले सचेत गराएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष सयम लिएर बोल्दै सांसद केसीले जनताबाट पाँच वर्षका लागि जनादेश पाएको सरकार कोरोना महामारीको सयममा पनि भ्रष्टाचारको दलदलमा फँसेर जनताप्रतिको दायित्व निर्वाह गर्न नसकेपछि प्रतिपक्षले असहयोग गरेको आरोप लगाएकोमा रोष प्रकट गरे।
कुनै समय नेपालको राजनीतिमा सबैभन्दा शक्तिशाली नेताका रुपमा परिचित पुष्पकमल दाहाललाई चुनावी प्रतिस्पर्धामा अत्याधिक मतले पराजित गरेर चर्चामा आएका सांसद केसीले आजको संसदमा पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले असहयोग गरेको भनाईको चर्को प्रतिवाद गरे।
‘जनता सडकमा आइसके कि इनफ इज इनफ भन्दै तर, सरकारको अझै होस खुलेको छैन। कहाँ भ्रष्टाचार गर्न पाइन्छ, कहाँ पैसा असुल्न पाइन्छ भन्नेमा केन्द्रीत छ,’ सांसद केसीले भने।
‘त्यसैले म प्रधानमन्त्रीलाई भन्छु, कन्ट्रोल गर्नुहोस्, इनफ इज इनफ। अति भयो, अति भयो। जनता सडकमा आइसके, हामीले पनि थाम्न नसक्ने अवस्था होला,’ केसीले अतिपछि खति हुने भन्दै सरकारलाई सचेत गराए।
साथै उलने देशको परिस्थिति अत्यन्त भयावह अवस्थामा रहेको बताउँदै भने, ‘यदि सडकबाट जनताले यो सरकार फाल्नु पर्यो भने त्यो लोकतन्त्रका लागि शुभ संकेत हुँदैन।’
प्रस्तुत छ सांसद राजेन्द्रकुमार (राजन) केसीले संसदमा व्यक्त गरेको विचारको अंशः
सभामुख महोदय,
अहिले काठमाडौंको शहरमा ‘इनफ इज इनफ, यो अति भो, अब खति हुने भो’ भनेर आवाज दन्किरहेको छ।
यो कांग्रेसको मात्र आवाज होइन, यो जनताको जनजिब्रोको आवाज बनेको छ।
हाम्रो प्रधानमन्त्रीका कारणले आज मुलुक आक्रान्त भएको छ, संकटमा मुलुक गएको छ। र प्रधानमन्त्रीजीले अहिले भन्न थाल्नु भो रे, कि प्रतिपक्षले हामीलाई सहयोग गरेन। अस्ति पत्रपत्रिकामा आयो कि क्याबिनेटमा उहाँको धेरै लामो बक्तव्य पनि गयो रे।
प्रधानमन्त्रीज्यू, लोकलाज त राख्नुहोस्, कांग्रेसले कहाँ सहयोग गरेको छैन? हामीले भन्यौँ, वाइड बडी खरिद प्रक्रियामा भ्रष्टाचार भएको छ, महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा पनि भनेको छ। हामीले भन्यौँ, प्रधानमन्त्रीज्यू, त्यहाँ साढे ४ अर्बको भ्रष्टाचार भएको छ, तपाईले त्यहाँ हेरिदिनुहोस्। प्रधानमन्त्रीज्यूले भन्नु भयो, उहाँले फैसला दिनु भयो, यहाँ भ्रष्टाचार भएको छैन भनेर।
हामीले भन्यौँ, ३३ किलो सुन। सुन त खायो, भूँडिमा गयो, मान्छे मात्रै हिरासतमा छ, सुन पत्ता लगाइदिनुहोस् भन्दा आजसम्म सुन पत्ता लागेको छैन। हामीले कहाँ सहयोग गरेनौँ?
सेक्युरिटी प्रिन्टिङ प्रेसमा हामीले भन्यौँ, अहिले बेला होइन भनेर अहिले छताछुल्ल भएको छ कि मन्त्रीजीले त ७० करोड रुपैयाँ घुस माग्नु भयो भनेर आज राजीनामा गरेको अवस्था छ।
यो सरकारको नैतिकता कहाँ छ? अझ प्रतिपक्षले सहयोग गरेन, प्रतिपक्ष असहिष्णु भयो भनेर भन्नु हुन्छ सभामुख महोदय। लोक लाज त राखिदिनुहोस् प्रधानमन्त्रीज्यू। कमसेकम एउटा व्यवस्थित र लोकतान्त्रिक व्यवहार प्रतिपक्षले गर्यो कि गरेन भनेर।
यो मात्रै होइन, प्रतिपक्षले भन्यो, कि १० अर्बको हिसाब दिनुहोस्। यो रकम कहीँ गएको छैन। स्थानीय निकायमा, मैले पटक पटक आवाज उठाएँ, सभामुख महोदय। दश अर्बको हिसाब दिनु पर्छ भनेर हाम्रा माननीयजीहरुले पनि आवाज उठाए। सरकारले हिसाब दिनु परेन?
आज क्वारेन्टाइनको कुरा गर्ने हो भने, भेडाबाख्रा जस्तो त्यो एउटा सेफ प्लेस हो कि डेथ प्लेस हो यो सरकारले बोल्नु नपर्ने? क्वारेन्टाइनमा मान्छे मर्नु पर्ने? पानी खान नपाएर मान्छे मर्नु पर्ने? अनि सरकार ठूलो कुरा गर्ने? अनि प्रतिपक्षले सहयोग गरेन भन्ने?
त्यतिमात्रै होइन, सभामुख महोदय, आज नेपाल एयरलाइन्सको जुन जहाज छ, चार्टर्डको नाउँमा यहाँका ट्राभल्स ऐजेन्सीहरुबाट ५/६ गुणा भन्दा बढी भाडा असुलीरहेको छ। यहाँ बोल्नु नपर्ने सरकारले। जनतालाई जे भने पनि हुने? जनता सहिरहनु पर्ने र हामी चुप लाग्नु पर्ने?
सभामुख महोदय, स्थिति अत्यन्त भयावह अवस्थामा छ। यदि सडकबाट जनताले यो सरकार फाल्नु पर्यो भने त्यो लोकतन्त्रका लागि शुभ संकेत हुँदैन।
जनता सडकमा आइसके कि इनफ इज इनफ भन्दै तर, सरकारको अझै होस खुलेको छैन। कहाँ भ्रष्टाचार गर्न पाइन्छ, कहाँ पैसा असुल्न पाइन्छ भन्नेमा केन्द्रीत छ।
मैले पढेको थिएँ, इम्पेरेरर्स न्यू क्लथ। आज अरिंगालहरु प्रधानमन्त्रीलाई भन्दै हुनुहुन्छ, राम्रो काम भएको छ र त्यसैमा उहाँ भुल्दै हुनुहुन्छ। प्रधानमन्त्रीज्यू, राम्रो काम भएको छैन, तपाईले केही पनि काम गर्नु भएको छैन, सिर्फ भ्रष्टाचार भएको छ, भ्रष्टाचार भएको छ, म भन्न चाहन्छु।
स्थिति अत्यन्त भयावहपूर्ण छ। जहाँतही भ्रष्टाचार छ। खाद्यन्नमा भ्रष्टाचार भएको छ। क्वारेन्टाइनमा, आइसोलेशनमा जनता भोकभोकै मरेको छ। प्रधानमन्त्रीले भन्नु भएको होइन? कि अब नेपालमा कुनै पनि नागरिकले भोकले मर्नु पर्दैन भन्नु भएको होइन?
प्रधानमन्त्रीज्यू, नागरिक भोकभोकै मर्यो, तराईमा। आज उहाँको श्रीमतीलाई राहत लिने हो भने, श्रीमान भोकको कारणले मरेको होइन भन अनि मात्र राहत दिन्छु भनेर यो सरकारले जबरजस्ती निवेदन लेखाउँदैछ।
यहि हो सरकार? सरकार भनेको नागरिकको सरकार यस्तै हुन्छ प्रधानमन्त्रीज्यू? आज झण्डै दुई तिहाई मत प्राप्त भएको सरकार आज जनतालाई कसरी दोहन गर्न सकिन्छ, जनतालाई कसरी भ्रष्टाचार गर्न पाइन्छ, कहाँ छ भ्रष्टाचारको रकम भनेर तल्लिन हुने यो सरकार फेरि जनताको दुहाई दिएर, नेपाली कांग्रेसलाई दोष लगाएर प्रतिपक्षले सहयोग गरेन भन्न अलिकति सर्म मानेर प्रधानमन्त्रीज्यू, लोकलाज हुनुपर्छ।
हामीले भन्यौँ, प्रधानमन्त्रीज्यू, तपाई धेरै कुरा होइन, काम गर्नुहोस्। संसारको कुनै पनि मुलुकमा यस्तो गरी प्रधानमन्त्रीले धेरै बोलेको इतिहास छैन। सीमित बोल्नुहोस्, काम गर्नुहोस्, जनताले तपाईलाई पाँच वर्षको लागि जनमत दिएको छ।
नेपाली कांग्रेस पाँच वर्षसम्म शान्तसँग एउटा प्रतिपक्षका नाताले भूमिका निर्वाह गर्दछ भनेर पटक पटक भन्दा आज असहयोग? कोरोनाको कुरा गर्दा पनि आफ्ना कार्यकर्ता र साथीहरुसँग सय, सय रुपैयाँ उठाएर ५० लाख रुपैयाँ सबै भन्दा पहिले कांग्रेसले नै हो सरकारलाई दिएको।
हामी सांसदहरुले पनि १५ दिनको पारिश्रमिक कटाएर सरकारलाई सहयोग गरेका छौँ। अझै पनि हामीले कहाँ सहयोग गरेनौँ र प्रतिपक्षले सहयोग गरेन र उचाल्यो भनेर आरोप लगाउने?
लोक लाज हुन्छ प्रधानमन्त्रीज्यू, आज जनतालाई भ्रममा पारेर पूरा मुलुक भ्रष्टाचारको दलदलमा फसाँउने अधिकार तपाईलाई छैन।
आज समाजिक सञ्जालमा प्रधानमन्त्रीकाबारेमा भद्दामजाक गरेर उडाउने काम भइरहेको छ। उहाँ मेरो पनि प्रधानमन्त्री हो, पाँच वर्षको जनादेश प्राप्त प्रधानमन्त्री हो। उहाँले आफूलाई विश्वसनीय प्रधानमन्त्रीको रुपमा स्थापित गर्नुहोस् भन्ने हाम्रो शुभकामना थियो। यद्यपि प्रधानमन्त्रीले यति धेरै चाहिँदा नचाहिँदा उखान टुक्का भन्दै हावादारी गफ गर्ने र जनतालाई गुमराहमा राख्ने काम गर्नु भयो यसले मुलुकका जनताले अत्यन्त दुःख पाएको अवस्था छ।
त्यसैले म प्रधानमन्त्रीलाई भन्छु, कन्ट्रोल गर्नुहोस्, इनफ इज इनफ। अति भयो, अति भयो। जनता सडकमा आइसके, हामीले पनि थाम्न नसक्ने अवस्था होला। आज सुकम्बासीका नाउँमा काठमाडौंको जग्गालाई कब्जा गर्न गुठी विधेयक ल्याउँदा हामीले भन्यौँ, यो गुठी नेवारहरुको सामाजिक, सांस्कृतिक संस्थामाथि प्रहार नगर्न भन्यौँ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय