संविधान दोस्रो पटक संशोधन प्रस्तावको मतदानमा १२ सांसद अनुपस्थित रहेका छन् । नेकपाका ४ , नेपाली कांग्रेसका ३ , राजपाका २ र समाजबादी पार्टीका एक सांसद आजको बैठकमा अनुपस्थित थिए ।
नेकपाबाट हरिवोल प्रसाद गजुरेल, शिव कुमार मंडल, गोपाल बहादुर बम, धन बहादुर बुढा, नेपाली कांग्रेसबाट सांसद सुर्य बहादुर केसी, जनागेन्द्रकुमार चौधरी, ज्ञानकुमारी छन्त्याल, राजपाबाट प्रमोद साह, अमृता देवी अग्रहरी र समाजबादीबाट सूर्य नारायण यादव अनुपस्थित थिए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुषालका अनुसार आजको मतदानमा पोखराका सांसद सुर्य बहादुर केसी र बाग्लुंगकी सांसद ज्ञानकुमारी छन्त्याल स्वास्थ्य अवस्थाका कारण अनुपस्थित थिए। भुषालका अनुसार सांसद छन्त्याल शहिद गंगालालमा भर्ना भएकी छिन् भने सांसद केसी मिर्गौला प्रत्यारोपण गरेर अहिले पोखरामा स्वास्थ्य लाभ लिईरहेका छन्।
संविधान दोस्रो पटक संशोधनको प्रस्तावमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेपछि उनीहरु स्वास्थ्य अवस्थाका कारण अनुपस्थित रहने पार्टीलाई पूर्व जानकारी दिएको भुषालले बताइन। आज संविधान संशोधनका प्रस्तावको पक्षमा सदनमा २५८ सांसदले मतदान गरेका थिए।
त्यस्तै अन्य थप १० जना सांसदहरु पनि आज अनुपस्थित थिए भने सांसद सरिता गिरिले बैठक नै बहिष्कार गरेकी थिइन्।
यसअघि ३ जना सांसदहरु निलम्बनमा गरेका थिए। राजपाका सांसद रेशम चौधरी कैलाली घटना, विजय गच्छेदार बालुवाटार प्रकरण र मोहम्मद अफताब आलम रौतहट घटनामा संग्लग्न रहेको भन्दै उनिहरुलाई निलम्बन गरिएको थियो।
नेपालको सुदूरपश्चिम काली नदी पूर्वको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको भूभाग भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गर्दै उक्त क्षेत्रबाट एकतर्फी मानसरोवर जाने सडक बनाएपछि नेपालभित्र देखिएको असन्तुष्टिको उपजका रुपमा सरकारले उक्त क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि आज बसेको प्रतिनिधि सभाको बैठकले संविधान संशोधन गरेको हो।
शनिबार बसेको संसदमा सरकारकी कानून मन्त्री शिवमाया तुम्वाहाङफेले पेश गरेको नयाँ नक्सासहितको अनुसूचि ३ को निशान छाप संशोधनको प्रस्तावमाथि दलीय आधारमा भएको छलफल पश्चात सदनले मतदानको माध्यमबाट सर्वसम्मत पारित गरेको हो।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय