करिब ५ वर्ष अघि बनेको नेपालको संविधान दोस्रो पटक संशोधन भएको छ।
शनिबार बसेको संसदको बैठकमा प्रस्तुत संविधान संशोधनका प्रस्तावको पक्षमा सदनमा उपस्थित सबै दल र स्वतन्त्र सांसदले मतदान गर्दै ऐतिहासिक एकता प्रकट गर्दै पारित गरिएको हो।
सांसदहरुले छलफलमा भाग लिएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत दिन राखेको प्रस्तावको विपक्षमा कुनै पनि दलका सदस्यले नबोलेपछि सर्वसम्मत पारित भएको घोषणा गरे।
त्यसपछि उनले संविधान र संसदीय नियमावली बमोजिम संशोधनको लागि मत विभाजनको प्रक्रिया अपनाएका थिए। जसका लागि पक्षमा भएका सदस्यलाई सभामुखको दायातर्फ र विपक्षमा रहेका सदस्यलाई वायाँतर्फ गएर आफ्नो नाममा हस्ताक्षर गर्न तथा पक्ष वा विपक्ष कुनै पनि प्रस्तावमा मत दिन्न भन्नेलाई पनि सभाहल नजिकै राखिएको लविमा गएर मत दिन अनुमति दिएका थिए। यसरी भएको मतविभाजनमा सबै सदस्यहरुले पक्षमा मतदान गरे। प्रस्तावको पक्षमा उपस्थित सांसद २५८ मध्ये सबै सांसदले मतदान गरेका थिए।
नेपालको सुदूरपश्चिम काली नदी पूर्वको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको भूभाग भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गर्दै उक्त क्षेत्रबाट एकतर्फी मानसरोवर जाने सडक बनाएपछि नेपालभित्र देखिएको असन्तुष्टिको उपजका रुपमा सरकारले उक्त क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि आज बसेको प्रतिनिधि सभाको बैठकले संविधान संशोधन गरेको हो।
शनिबार बसेको संसदमा सरकारकी कानून मन्त्री शिवमाया तुम्वाहाङफेले पेश गरेको नयाँ नक्सासहितको अनुसूचि ३ को निशान छाप संशोधनको प्रस्तावमाथि दलीय आधारमा भएको छलफल पश्चात सदनले मतदानको माध्यमबाट सर्वसम्मत पारित गरेको हो।
बैठकमा समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले सुरुमै विरोधमा बोल्न नपाएपछि बहिष्कार गरेपनि बाँकी सदनमा रहेका सबै सदस्यहरुले प्रस्तावको पक्षमा मत दिएका थिए।
संशोधनको पक्षमा मतदान गर्नुअघि सांसदहरुले संविधान संशोधन पश्चात नक्सामा नेपाली भूभाग समेटिएपनि राजनीतिक, प्रशासनिक र भौतिक रुपमा उक्त भूभाग फिर्ता ल्याउन तत्काल भारतसँग कुटनीतिक वार्ताको माध्यमबाट फिर्ता ल्याउन जोड दिएका थिए।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय