राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा निसर्त मत दिने निर्णय गरेको जानकारी सांसद राजेन्द्रप्रसाद लिङदेनले दिए।
प्रतिनिधि सभामा प्रस्तुत संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै राप्रपा नेता लिङदेनले संसदमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश भएको नक्सा प्रकासित गर्न ढिला भयो भनि सरकारको आलोचना गर्दै खेद व्यक्त गरेको स्मरण गर्दै सरकारले अहिले नक्सा प्रकासित गरी संविधानमा व्यवस्थित गर्न ल्याएको प्रस्तावको स्वागत गरे।
अहिलेको संविधानको आधारभूत सिद्धान्तहरु संघीयता, गणतन्त्र, धर्म निरपेक्षता लगायतका विषयमा आफ्नो दलको सबैभन्दा ठूलो असहमति रहेको बताउँदै उनले अहिले प्रस्तुत संशोधन प्रस्ताव कुनै दल विशेषको विषय नभएर सार्वभौमसत्ता, राष्ट्रियता र अखण्डताको विषयमा आफ्नो पार्टीको कुनै सर्त नभएको बताए।
उनले इतिहासमा भएका गल्तीहरुको अपजस कसैको टाउकोमा थोपारेर कुनै दल, नेता वा गुट विशेषले जस लिने दिन आज नभएको बताए।
संसदभित्र र बाहिर रहेका सबै नेपालका लागि आजको दिन खुशीको दिन भएको बताउँदै यो ऐतिहासिक महत्वको दिनको नेतृत्व लिने प्रधानमन्त्रीसँगै सिंगो संसदलाई पनि बधाई दिए।
संसदबाट संविधान संशोधन गरेपछि नक्सा पारित भएपछि पनि जटिलता बाँकी रहेको बताउँदै आफ्नै जीवनकालमा आफ्नो भूमि फिर्ता ल्याउन कुटनीतिक पहल आवश्यक रहेको बताए।
भारतसँग मित्रतापूर्ण सम्बन्ध कायम गर्नेक्रममा नेपाल भारतको भाइ होइन, मित्र, छिमेकी भएको भन्दै वार्ताका क्रममा भारतसँग सोध्नु पर्यो कि भारतले अब सुगौली सन्धी नमान्ने हो? सुगौली सन्धी नमान्ने हो भने हामीलाई टिष्टा र काँगडासम्मको भूभाग छोडिदिनु पर्यो। भारतले त्यो गल्ती गर्दैन भन्ने मलाई लाग्दछ।
हामीले पनि इतिहासमा केही प्राविधिक त्रुटिहरु गर्यौँ, आफ्नै नक्सामा आफ्नै भूमि सामेल नभएको तथ्य पनि थाहा पाएनौँ र अहिले सच्याउँदैछौँ। भारतलाई पनि प्रधानमन्त्रीले सम्झाउनु पर्यो र ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छोड्न लगाउन सकिन्छ।
साथै उनले पुष्पकमल दाहालको भनाइप्रति आपत्ति जनाउँदै जुन संस्थाले यो देश निर्माण गरी नेपाल राष्ट्र र नेपाली पहिचान दिलायो त्यो संस्थाले यो भूगोल बेच्यो र गुमायो र त्यो हामीले फिर्ता ल्यायौँ भनि धक्कु लगाउन दिन होइन।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय