जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले संविधानमा रहेका धेरै असहमति र असन्तुष्टिका बाबजूद राष्ट्रियताको सवालमा संविधान संशोधन प्रस्तावको पक्षमा उभिने घोषणा गरेका छन्।
संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधि सभामा शनिबार भएको छलफलमा भाग लिँदै उनले संविधान मधेसी, आदीवासी, जनजाति लगायतका अधिकारको विषयमा विभेदकारी भएपनि राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षार्थ आफूहरु संशोधनको प्रस्तावमा उभिने बताए।
मधेसी नेता र जनताप्रति विभेदकारी र नस्लिय चिन्तनले सधै उनीहरुको राष्ट्रियतामाथि प्रश्न उठाउने गरेको आरोप लगाउँदै यो चिन्तनबाट मुक्त हुन आग्रह गरे।
साथै उनले नेपालको भूभाग हिँजोका दिनमा कसले विदेशीलाई सुम्पियो भनि प्रश्न गर्दै महाकाली सन्धी कसले गरेको हो, कसले हो त्यो सन्धी गर्दा पार्टी फुटालेको हो र कसले बेचेको हो भन्दै त्यसको स्वेत पत्र जारी गर्न चुनौति दिए।
सभामुखले १० मिनेटको सट्टा ७ मिनेट बढी दिएको भनेपछि रुष्ट बनेका महतोले प्रधानमन्त्री बनेपछि कुनै सीमा नराखी बोल्नेगरी आउने चुनौति पनि दिए।
यसैगरी उनले नक्सा बनाएर मात्र नहुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतसँग कुटनीतिक वार्ताको माध्यमबाट गुमेको भूमि फिर्ता ल्याउन माग गरे।
कोरोना महामारीको समयमा जनताको रक्षा नगर्ने सरकारले भूमिको रक्षा कसरी गर्छ भनि जनताले बाहिर प्रश्न गरिरहेको बताउँदै उनले नेपाली जनताले आफ्नो भूमिको रक्षा गर्ने बताए।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय