हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालले विवादस्पद भूभागबाट भारतले नक्सा प्रकासितसँगै बाटो उद्घाटन गरेर नेपालीहरुलाई अलिअलि उद्देलित र अलिअलि चुनौति दिएको बताएका छन्। संविधान संशोधनको प्रस्तावमाथि प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा नेता दाहालले भारतले शान्तिपूर्ण कुटनीतिक वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको सट्टा नक्सा सार्वजनिक गर्दै बाटो उद्घाटन गरेर भारतीय मन्त्री (रक्षामन्त्री राजनाथ सिंहको नाम नलिइकन)ले नेपालीलाई एकताबद्ध बनाउन मद्दत गरेको बताए। उनले पछिल्लो समय आन्तरिक रुपमा बेग्लै वातावरण बनिरहेको बेला भारतीय मन्त्रीको कदमले सबैलाई ऐतिाहासिक रुपमा एकताबद्ध हुन र देशको राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षा गर्न वातावरण बनाइदिएको बताए। यसका बाबजूद उनले नेपालले भारतसँग कुनै सत्रुतापूर्ण व्यवहार भन्दा मित्रतापूर्ण सम्बन्ध कायम गरी सबै समस्याको समाधान कुटनीतिक वार्ताकै माध्यमबाटै गर्न तयार रहेको बताए। सदनभित्र देखिएको राजनीतिक दलबीचको एकता र जनताको समर्थन भारतको विरुद्ध उसलाई अप्ठ्यारोमा पार्नका लागि प्रयोग नहुने आश्वासन दिँदै उनले भारतीय पक्षले नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले लिएको परिवर्तनको यात्रामा सहयोग गर्न आग्रह गरे। उनले भने, ‘नेपालीहरु राष्ट्रिय मुद्दामा ऐतिहासिक रुपमा एक ठाउँमा उभिन्छन् भन्ने सन्देश अन्तर्राष्टिय समुदायलाई दिन चाहन्छन्।’ साथै उनले भारतलाई पटक पटक यो विवादलाई यो विन्दुभन्दा बढी चर्काउने अथवा तन्काउने दिशामा नलैजाना पनि आग्रह गरे। सडकमा पछिल्लो समय देखिएको विरोधका स्वरलाई परिवर्तनको विरोधमा उत्रिएको पश्चगामी शक्तिको पक्षपोषक भएको लक्षित गर्दैै उनले भने, ‘हिँजो राजा महाराजाले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याएको छ। खबरदार, कोही नहौसिए हुन्छ।’
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update