नेपालको संविधान दोस्रो संशोधन प्रस्तावको विरोधमा संघीय संसद सचिवालयमा पार्टी निर्णय विपरित प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टी नेपाल (राजपासँग एकीकरण पश्चात जनता समाजवादी पार्टी नेपाल)की सांसद सरिता गिरिले संसदको ऐतिहासिक बैठक बहिष्कार गरेकी छिन्।
सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सालाई संविधानको अनुसूचि ३ मा उल्लेखित निशान छापमा संशोधन गर्न दर्ता गरेको संविधान संशोधनको प्रस्तावमाथि शनिबार सुरु भएको बैठकमा विरोध जनाउन उभिएकी सांसद गिरिले सभामुखको रुलिङ पश्चात बैठक बहिष्कार गरिन्।
निर्धारित समयभन्दा केही ढिलोगरी सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कानून मन्त्री शिवमाया तुम्बाहाङफेलाई सरकारको प्रस्ताव छलफलका लागि पेश गर्न समय दिएपछि मन्त्रीले उक्त प्रस्ताव सदनमा पेश गरिन्।
https://twitter.com/i/status/1271727118523617280
त्यसपछि सभामुख सापकोटाले प्रस्तावमाथिको छलफलमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहाललाई बोल्न समय दिए।
दाहाल बोल्नका लागि रोष्ट्रममा जाँदैगर्दा सांसद गिरिले उभिएर विरोध जनाउँदै समय मागिन्। तर, सत्तापक्षका सांसदहरुले होहल्ला गरेपछि सभामुख सापकोटाले संसदीय नियमावली अनुसार, उनको प्रस्तावमाथि छलफलको अनुमति नदिएको भन्दै बस्न आग्रह गरे। बोल्न समय नपाएपछि सांसद गिरि सदनबाट उठेर बाहिरिन्।
उनको पार्टीले भने प्रस्तावको विपक्षमा नजाने निर्णय लिइसकेको छ। यसरी पार्टीले लिएको निर्णय र दिएको निर्देशन विपरित गएकी सांसद गिरिको विरुद्ध पार्टी नेतृत्वले अडान लिएर अनुशासनको कारबाही गरेमा गिरिको सांसद पद जाने भएको छ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय