हिमाल दैनिक
नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कटिस् उपन्यासकार रोबर्ट लुइस् स्टिभिन्सनको चर्चित गोथिक उपन्यास ‘स्ट्रेन्ज केस अफल डा. जेकिल एण्ड मिष्टर हाइड’को सम्झना दिलाएर त्यसमा उल्लेखित पात्र जस्तो नहुन सुझाव दिएका छन्। सरकारको आगामी वार्षिक वर्षको मन्त्रालयत विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रतिनिधि सभामा बुधबार पुगेका प्रधानमन्त्री ओलीले दिएको जवाफपछि प्रतिप्रश्न गर्ने क्रममा नेता रिजालले लाक्षणिक रुपमा  यस्ताे सझाव दिएका हुन्। रिजालले एक मिनेटको समयमा थप स्पष्टिकरण माग्ने क्रममा भने, ‘सम्माननीय सभामुख महोदय, रोवर्ट स्टिभिन्सनको डा. जेकिल एण्ड मिष्टर हाइड सम्झिँदैछु। संविधान संशोधनको प्रस्ताव गर्ने सरकार देख्दा डा. जेकिल सम्झिएँ। संक्रमित नागरिकलाई अस्पताल नआउन भन्ने हथप्रव स्वास्थ्य मन्त्रालय, धरासायी उद्योग, व्यवसायीको घाँटी अँचेट्ने जनअपेक्षा र आत्मक्षमताको परिक्षामा असफल अर्थमन्त्रालय, रुकुममा न्याय माग्नेलाई अमेरिकाको उदाहरण दिएर खिस्सी गर्ने गृहमन्त्रालय, खोई शून्य सहनशीलता भन्दा उल्फाको धन झैँ दश अर्ब खर्च गर्यौँ भन्ने उच्चस्तरिय समिति विदेशबाट उद्दार र देशबाट राहत माग्ने आर्तहरुको घाउमा नून छर्किँदै जिमखाना र कापेएट फेर्न तल्लिन सरकार देख्दा डा. जेकिल होइन, मिष्टर हाइट प्रतित हुन्छ। डा. जेकिल दिनानुदिन मिष्टर हाइडसँग अभ्यार्पण गर्दैछ। चिन्ता छ, मिष्टर हाइड रुपी सरकारसँगको निराशाको अग्निमा संविधान र लोकतन्त्ररुपी डा. जेकिलकोे ज्यान जोखिममा पर्ला। प्रधानमन्त्रीज्यू, अझैपनि बेला छ, कथा बदलौँ।’ कथामा के छ? र वास्तविकतामा कसरी तुलना भयाे? सन् १८८६ मा स्टिभिन्सनले लेखेको उक्त उपन्यासमा उल्लेखित डा. जेकिल र मिष्टर हाइडको अस्थिर स्वभावकै कारण बेलायती समाजमा 'जेकिल एण्ड हाइड' वाक्यांक (फ्रेज) चर्चित बनेको छ। एउटै पात्रभित्र रहेको दुइवटा फरक र अस्थिर स्वभाव र चरित्रमध्ये समाजले राम्रो चरित्र भएको डा. जेकिललाई खराब देख्छ र खराब स्वभाव र चरित्र भएको हाइडलाई असल भन्ने भ्रममा पर्छ। यसरी असल चरित्र र स्वभावको जेकिल जब समाजमा फैलिएको नकरात्मक भावनाबाट निराश हुन्छ तब, उसले आत्महत्या गर्नु बाहेक अर्को विकल्प रहँदैन। उक्त उपन्यासमा उल्लेखित जेकिल र हाइडसँगको विम्व प्रयोग गर्दै नेता रिजालले प्रधानमन्त्री ओली र उनका मन्त्रीहरुको चरित्रलाई तुलना गरे। प्रधानमन्त्री ओली र उनको नेतृत्वमा रहेको सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव बाहिरबाट देख्दा त्यहि उपन्यासको असल पात्र जेकिलसँग तुलना योग्य भएको संकेत गरे। एकथरी उनका अन्धभक्तहरु ओलीकाे देवत्वकरणमा लागेका छन् भने स्वयं ओली पनि आत्मवाञ्चनामा व्यस्त छन्। जसले गर्दा वास्तविकतामा नेपालको सीमा र नक्सा सम्बन्धी विषयलाई कुटनीतिक रुपमा वार्ताको माध्यमबाट समाधान गरी टुंगो लगाउन भन्दा सरकारी नेतृत्व केबल आत्म प्रशंसामा रमाउनका लागि गरिएको त होइन भन्ने आशंका रिजालको भनाइमा झल्किन्छ। किन कि सीमा विवादको विषय सदनभित्र वा बाहिर चर्को भाषण गरेर कसैलाई चिढाउने भन्दा पनि कुटनीतिक चातुर्यताबाट समाधान खाेज्नु पर्ने विषय हाे। तर, प्रधानमन्त्री ओलीले आजै पनि सदनबाट भारतीय सरकारसँग उत्तरप्रदेशका मुख्यमन्त्रीको विषयमा आवश्यकता भन्दा ज्यादा नै बोलेका थिए। नेपालको राजनीतिक परिवर्तनका लडाईमा १४ वर्ष जेल जीवन विताएका प्रधानमन्त्री जसले लोकतन्त्रको लडाईदेखि संविधान निर्माणको प्रक्रियामा समेत सक्रिय भूमिका निर्वाह गर्दै अहिले देशलाई राजनीतिक स्थायित्व र जनभावना अनुसार विकासको प्रतिफल दिने जिम्मेवारी रहेको छ त्यस उद्देश्यमा कतै उनमा रहेको डा. जेकिल चरित्र हार्ने वा निराश हुने त होइन भन्ने आशंका रिजालको छ। कोरोना संक्रमणबाट प्रताडित जनताको रक्षार्थ खटिनु पर्ने स्वास्थ्य मन्त्रालय, मन्त्री र मातहतका निकायले गरेको गतिविधि, अर्थ मन्त्रालय र मन्त्रीले संकटको समयमा पनि उद्योग, व्यवसायी र करदाताप्रति गरेको व्यवहारसँगै गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको विषयमा दिएको अभिव्यक्ति, उपप्रधान तथा रक्षामन्त्रीले उच्चस्तरिय समितिको तर्फबाट १० अर्ब खर्चबारे दिएको प्रतिक्रियासँगै विदेशमा अलपत्र नेपालीको उद्दार तथा नेपालमा राहतको अपेक्षा गरिरहेका जनताको भावनालाई वेवास्ता गर्दै राष्ट्रपति कार्यालयमा खरिद गरिएको महंगो कार्पेट र मन्त्रीहरुका लागि जिमखाना बनाउने कार्यले कथाको जेकिलको सट्टा खराब चरित्रको हाइड प्रतित भएको बताए। यी सबै प्रसंग उल्लेख गर्दै अन्त्यमा नेता रिजालले भने, ‘डा. जेकिल दिनानुदिन मिष्टर हाइट्ससँग अभ्यार्पण गर्दैछ। चिन्ता छ, मिष्टर हाइड रुपी सरकारसँगको निराशाको अग्निमा संविधान र लोकतन्त्ररुपी डा. जेकिलको ज्यान जोखिममा पर्ला। प्रधानमन्त्रीज्यू, अझैपनि बेला छ, कथा बदलौैं।’ उनले सत्ताको वरिपरि रहेका खराब हाइडहरुसँग सर्तक रहँदै प्रधानमन्त्री ओलीलाई कथाको जेकिलको जस्तो नियती बाट बचेर देशको विकास र संमृतिको सपना मर्न नदिन पनि सुझाव दिए।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update