हिमाल दैनिक
एमसिसीको सम्झौता तोडेर अन्तराष्ट्रिय सम्बन्ध बिगार्नु उचित हुँदैन: अर्थमन्त्री खतिवडा
arthamantri-khatiwada
अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्न नहुने भन्दै यसलाई पारित गर्दै अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट र योजनामाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा संसदले एमसीसी पारित गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । अर्थमन्त्री खतिवडाले उक्त सम्झौता नेपालले तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने पनि बताए । एमसीसी सम्झौता पत्र संसदमा विचाराधीन रहेको भन्दै संसदमा नै यसका बिषयमा छलफल हुनुपर्ने धारणा उनको छ । खतिवडाले विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने भन्दै यसका लागि औद्योगीकरण र ग्रामीण विद्युतीकरण गरिनुपर्ने बताए । चक्लेट आयातमा भन्सार घटाइएकोमा प्रष्टीकरण दिँदै उनले १२३ वटा फर्मले चकलेट आयात गरिरहेकाले कुनै एउटा फर्मलाई हेरेर निर्णय नलिएको तर्क गरे । बजेटको आकार घट्दा पनि प्रदेश र स्थानीय तहमा जाने बजेट नघटाएको भन्दै उनले संघमा पुराना दायित्व धेरै भएकाले दुई तिहाई बजेट राख्नुपरेको बताए । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले सुरक्षण मुद्रण खरीद प्रक्रियालाई पारदर्शी बनाइने बताए । साइबर अपराध नियन्त्रणका विषयमा जवाफ दिँदै मन्त्री डा खतिवडाले सञ्चार मन्त्रालयसहित सूचना प्रविधि केन्द्र र नेपाल दूरसञ्चार प्राधिकरणको सहभागितामा साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरिएको जानकारी दिए । सामाजिक सञ्जालबाट हुने व्यक्तिको चरित्रहत्या रोक्न सरकारले ध्यान दिने र संसद्मा विचाराधीन कानून आए पनि त्यो थप व्यवस्थित हुने बताए । मन्त्री डा खतिवडाले पत्रकारको सुरक्षामा सरकार गम्भीर रहेको बताएका छन्।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update