हिमाल दैनिक
नक्सास्त्र प्रयोग गरेर होइन, भारतसँग कुटनीतिक माध्यमबाटै समाधान खोजौँः गिरि
pradip-giri-himal-dainik
नेपाली कांग्रेसका नेता प्रदिप गिरिले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारले कुटनीतिक माध्यमबाट समस्याको सामाधान गर्ने भन्दा रामायण र महाभारतमा ब्रम्हास्त्र, वायोस्त्र प्रयोग गरेजस्तै नक्सास्त्र प्रयोग गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै नेता गिरिले राजा महेन्द्रले जस्तो एकातिर सुटुक्क चिठ्ठी पठाएर अर्कोतिर महान राष्ट्रवादी बन्ने दिशामा नजान पनि सुझाव दिए। भारतीय पक्षले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो नक्सामा राख्दै त्यहाँबाट एकपक्षिय रुपमा मानसरोवर जाने बाटो खनेपछि नेपाल सरकारले उक्त क्षेत्रलाई समेटी आफ्नो नक्सा सार्वजनिक गरेकोप्रति घटनालाई नेता गिरिले असन्तुष्टि स्वरुप नक्सास्त्रको संज्ञा दिए। उनले भने, ‘हामीले भर्खरै हिन्दुस्तानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौँ। ब्रम्हास्त्र, वायोस्त्र प्रयोग गरेजस्तै आज नक्सास्त्र। हामीले प्रयोग गरेको त्यो नक्सालाई विफल हुन नदिन जुन हामीले कुटनीति अब अपनाउनु पर्ने हुन्छ के त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ? के त्यसमा हामीलाई म्याड्रिडको राजदूतावासले कुनै सहयोग गर्न सक्छ? त्यसमा हामीलाई डनेमार्कको राजदूतावासले सहयोग गर्न सक्छ? गरे बरु बेइजिङले नै गर्ला ध्यान पुर्याउनुहोस्।’ साथै उनले भारतसँग कुटनीतिक वार्ताकै माध्यमबाट लेनदेन गरी बदलिएको गणतान्त्रिक तबरले समस्या समाधान गर्न पनि सुझाव दिए। परराष्ट्र मन्त्रालयको बजेटमा विदेशस्थित कुटनीतिक नियोगको भवन बनाउनमा भन्दा विदेशमा अलपत्र परेका नेपालीको उद्दारका लागि कम रकम विनियोजन गरिएकोमा आपत्ति प्रकट गर्दै उनले सरकारका परराष्ट्र मन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए। https://www.youtube.com/watch?v=m0LD2hXC3Po&feature=youtu.be प्रस्तुत छ, नेता प्रदिप गिरिले व्यक्त गरेको विचारको अंशः सभामुख महोदय, सर्वप्रथम त म, आजको यस बहसका दर्मियानमा कहिले अघि त कहिले पछि बाँढिने गरेका सानो पुस्तिका देखाउन चाहन्छु। परराष्ट्र मन्त्रालय अन्तर्गत विनियोजित भएको रकमको परिचय अथवा सूचना यो सानो पुस्तिकाको पछिल्लो पृष्ठमा उल्लेखनिय ढंगबाट दिइएको छ। त्यहाँ चीनमा अथवा बेइजिङमा, क्यानभरामा अथवा अष्ट्रेलियामा र विभिन्न अन्य निकायमा बन्दै गरेका भवनका लागि क्रमशः १५ लाख, २० लाख, ३० लाख, (३० हजार लाख, ४ हजार लाख) बजेटको अंक त्यहि छ। र सबैभन्दा पहिले तीनवटा कुराहरु छन्। बेइजिङको राजदूतावासको निर्माण, क्यानभराको राजदूतावासको निर्माण, यहिँ काठमाडौंमै केही भवनहरुको निर्माण र अन्त्यमा छ, विदेशमा रहेका श्रमिकलाई कठिनाई परेमा, अप्ठ्यारो परेमा भित्र्याउनका लागि सहयोग, सहयोग पनि कुन रुपमा? उनीहरुलाई फिर्ता ल्याउनका लागि? उनीहरुलाई फिर्ता ल्याउने क्रममा उनीहरुमाथि परेका मुद्दामा वकालतको सहयोग गरिदिनका लागि १ सय १८ लाख छ। तीन हजार, चार हजार, दुई लाख, चार लाख माथि र त्यी श्रमिक जसको आँसु र पसिनाका आधारमा आएको पैसामा हामी समेत तबल भत्ता खाँदैछौँ, त्यी विल्डिङहरु बन्दैछन्। कोरोनाको यत्रो संकटमा पनि उनीहरुका लागि मुस्किलले एक सय लाख र अर्को तीन हजार, चार हजार, दुई लाख पचास हजार छ। भवन पर्खिन सक्छ, म बेइजिङसँगको हाम्रो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्न अनुरोध गर्दछु। त्यसका विषयमा पछि आउँछु म। क्यानभरा पनि एउटा महत्वपूर्ण केन्द्र भएर गएको छ तर, क्यानभरा र बेइजिङको भवनको निर्माण अथवा यहाँको परराष्ट्र मन्त्रालयको भवन निर्माणको तुलना अहिले विदेशीन बाध्य भएका, अहिले मजबुरीमा परेर घर आउन छटपटिरहेका मान्छेहरुको खर्चसँग तुलना गर्न सकिँदैन। यो तुलनाको उल्लेख मैले यसकारण गर्नु परेको छ कि सिंगो बजेटको, सिंगो सरकारको आर्थिक दृष्टिकाप्रति कुन विचारधाराले हामी हिँडिरहेका छौँ? के छ हाम्रो दर्शन? म स्पष्ट बताउन चाहन्छु, दर्शन के छ? सवाल यी आवश्यक दुइटा निकाय वा राजदूतावासको मात्र होइन, बाहिर कति छन् त? तीसवटा हाम्रा राजदूतावास छन्, कतिपय नियोग छन्। त्यी ३० वटा राजदूतावास कुन मापदण्डका आधारमा, परराष्ट्र नीतिको कुन समझदारीका आधारमा आज चलिरहेका छन्? बेलायतको त्यो भव्य राजदूतावास किन छ? राणाकालमा किनिएको त्यो भवन अहिले पनि छ। सभामुख महोदय, सोध्न चाहन्छु, सम्बन्धित परराष्ट्र मन्त्रीलाई, अर्थमन्त्रीलाई, विदेशका त्यी नियोगमा हामीले कति व्यापार गर्छौँ? कति नोक्सानी भइराखेको छ? तिनलाई हामीले किन चलाएका छौँ? मलाई थाहा छ, परराष्ट्र मन्त्रीको नियुक्तिको बारेमा हाम्रो मुलुकको देश चलाउने व्यक्तिलाई एकदमै कम चासो छ र कम जानकारी छ, आरोप लगाउन चाहन्छु। परराष्ट्र मन्त्रालयमा हत्तपत्त कोही जान पनि चाहदैन। परराष्ट्रमा नियोग चलाउँदाखेरि हामीले भूगोललाई हेर्नुपर्छ, भूगोललाई। हाम्रो मुलुकलाई काम लाग्ने देश, कसैले मन पराएपनि मन नपराएपनि हिन्दुस्तान हो, चीन हो र त्यसपछि छ भने संयुक्तराज्य अमेरिका हो। बाँकी मुलुकसँग हामीले कुनै समय राजालाई हरेक शहरैपिच्छे दरबार चाहिए जस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन। सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ, साउदी अरेवियामा हाम्रा मजदूर जान्छन् ल ठिक छ। त्यो खर्च कटौति गर्नुहोस् र विदेश नीतिमा आइरहेका समस्या एमसीसीको विवाद छ, रोड एण्ड बेल्ट इनिसिएटिभ्सकाबारे हामीले राय बनाउनु परेको छ। हामीले भर्खरै हिन्दुस्तानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौँ। ब्रम्हास्त्र, वायोस्त्र प्रयोग गरेजस्तै आज नक्सास्त्र। हामीले प्रयोग गरेको त्यो नक्सालाई विफल हुन नदिन जुन हामीले कुटनीति अब अपनाउनु पर्ने हुन्छ के त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ? के त्यसमा हामीलाई म्याड्रिडको राजदूतावासले कुनै सहयोग गर्न सक्छ? त्यसमा हामीलाई डनेमार्कको राजदूतावासले सहयोग गर्न सक्छ? गरे बरु बेइजिङले नै गर्ला ध्यान पुर्याउनुहोस्। यदि तपाईलाई अगाडि बढ्न छ भने। होइन भने, हिन्दुस्तानसँग लेनिदेनी गरेर बदलिएको परिस्थितिमा गणतान्त्रिक तबरले निर्णय गर्नुहोस्। राजा महेन्द्रले जस्तो सुटुक्क एउटा चिठ्ठी महेन्द्रको पाएझै एकातिर काम गर्ने अर्कोतिर उग्र भाषण गर्ने काम नगर्नुहोस्। यद्यपि जाँदाजाँदै भन्न चाहन्छु म, राजा महेन्द्र अत्यन्त सफल र दुरदर्शी कुटनीतिज्ञ थिए। यो मेरो भनाई होइन, भारत, चीन र नेपालका सन्दर्भमा लेखिएको सबैभन्दा आधिकारिक पुस्तक Leo E. Rose (लियो इ रोज)को Strategy for Survival (स्ट्रयाटिजी फर सर्भाइभल), नेपाल कसरी बाँच्यो भन्ने विषयलाई हेर्नुहोस्। र कुटनीतिका विषयमा हामीले बुद्धि पुर्याइरहेका छैनौँ। कुटनीतिक ढंगले गर्नु पर्ने कामको साटो हामीले विदेशको नियुक्तिलाई आफ्ना कार्यकर्ता पाल्ने बाटो बनाएका छौँ। (अब सकौँ माननीयज्यू सभामुख। अब सकेँः गिरि) श्रीलंकामा एउटा राजदूत विश्वम्भर प्याकुरेललाई नियुक्त गरिएको थियो। नेपाली कांग्रेसका पालामा गरिएको थियो, कांग्रेसकै कोटाले गरिएको थियो। उनी एक वर्षमै फर्किएर आएर आफ्नो विलाप, आफ्नो क्रन्धन टिभीमा बोलेका छन्। रुँदै भनेका छन्, कृपया यस्ता फजुलका राजदूतावास नबनाउँनुहोस् र सार्थक कुटनीति चलाउनुहोस्। अरु केही नभ्याएपनि हाम्रो विदेशमन्त्री र अर्थमन्त्रीले विश्वम्भर प्याकुरेल जो मुलतः अर्थशास्त्री हुन्, उनको त्यो अन्तर्वार्ता हेरिदिनुहोला। हेरिसकेर मनन गरी दुई मिनेटमा हाम्रा प्रतिभाशाली प्रधानमन्त्रीलाई त्यो कुरा सुनाइदिनु होला। त्यसपछि उहाँ नक्साआस्त्र, वायोअस्त्र, ब्रम्हास्त्रको मोहबाट मुक्त भइकन नेपाललाई सार्थक राजनीतिका तर्फ लैजान सक्नु हुन्छ। उहाँमा दक्षता छ, सल्लाहकार ठिक भएनन्। यति भनि आफ्ना कुरा सिध्याउन चाहन्छु धन्यवाद।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update