नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले सरकारसँग लक्ष्य अनुसार राजस्व उठाउने क्षमता र योजनासँगै पूँजीगत खर्च गर्न सक्ने प्रभावकारी क्षमता मात्र होइन इमान्दारिता समेत नभएको आरोप लगाएका छन्।
सरकारका अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट अन्तर्गत विनियोजन विधेयकमाथि जारी छलफलका क्रममा शनिबार प्रतिनिधि सभाको बैठकमा भाग लिँदै नेता रिजालले यस्तो आरोप लगाए।
विपक्षी दलको नेता तथा छायाँ अर्थमन्त्री समेत रहेका नेता रिजालले अर्थमन्त्रालयको विनियोजन विधेयकमा प्रस्तावित खर्च कटौतिको प्रस्ताव पेश गर्दै जनु अर्थमन्त्रालयसँग कोरोना कहरकाबीच असार मसान्तसम्मको अर्थतन्त्र के होला भन्ने अनुमान समेत नभएको सरकारले अहिले बजेट बढाउनुको अर्थ नभएको दाबी गरे।
राजस्व उठाउनेदेखि त्यसको प्रभावकारी योजनासहित पूँजीगत खर्च गर्न समेत पूर्णरुपमा विफल रहेको मन्त्रालयको चालु खर्च घटाएर चालु आर्थिक वर्षमा जस्तै आगामी आर्थिक वर्षका लागि पनि ८ अर्ब मात्रै कायम गराउन उनले माग गरे।
https://www.facebook.com/himaldainik/videos/591535174801116/?t=13
प्रस्तुत छ, नेता मीनेन्द्रप्रसाद रिजालले व्यक्त गरेको विचारको अंशः
सभामुख महोदय,
सरकारको राजस्व उठाउन सक्ने क्षमता र योजना छैन। पूँजीगत खर्च गर्नसक्ने प्रभावकारी रुपमा क्षमता छैन। यसपाली त त्यो गर्ने क्षमता मात्र होइन इमान्दारिताको पनि लक्षण देखिएन, विश्वसनीय आधार भएन। त्यसैले अर्थमन्त्रालयको चालु खर्च घटाएर पोहोर साल झै नै ८ अर्बमा राखियोस् भन्ने खर्च कटौतीको प्रस्ताव पेश गर्न चाहन्छु।
यसका लागि आधारहरु प्रस्तुत गर्न चाहन्छु। हाम्रो अर्थतन्त्र जसरी अब कोरोनाको संक्रमणमा फँस्दैछ, आतंकको सुरुमा १५ सयदेखि १० हजार मानिसहरुलाई संक्रमण हुन्छ भन्ने थियो। आजको स्थितिमा तीन हजार काटिसकेको छ। दश हजारको सीमा भन्दा पनि माथि जाला भन्ने हामी सबैको चिन्ताको विषय छ। बोर्डरमा ठूलो संख्यामा मानिसहरु आउनुभएको छ। उहाँहरुमध्ये एउटा पनि संक्रमित भयो भने पुरै घारलाई पुरै तथातकथित क्वारेन्टिनमा बस्ने त्यो सर्ने अवस्था छ। त्यो संक्रमण बोकेर गाउँमा घरमा गएदेखि त्यसपछि सारा गाउँमा विरामी, बृद्ध मानिसहरु, अशक्तहरु, रोगी र दीर्घरोगीहरुमा फैलिन थाल्यो भने यसको सीमा र यसको संख्या कसैले पनि कल्पना गर्न सक्दैन।
त्यो सीमा कल्पना गर्न नसक्ने सीमामा पुग्दा कसरी समाजले त्यसलाई व्यहोर्छ? अस्पतालले स्वास्थ्य उपचारको सेवा कसरी व्यवस्था गर्न सकिन्छ भन्ने आज सबैको चिन्ताको विषय छ।
त्यससँगै अर्थतन्त्र कति गहिरिएर अप्ठ्यारोमा पर्छ त्यसको पनि कल्पना गर्न सक्ने आज स्थिति छैन। त्यसैले हामीले सुरुमै भन्यौँ, कि अहिले बेला भएको छैन बजेटका सानासाना कुरामा छलफल गर्ने, अहिलेलाई मोटो रुपमा ल्याउँ, संकल्प प्रस्ताव पारित गरौँ। दृढ अठोटका साथ पूरक अनुमान पछि ल्याउनु पर्छ भनेर, तर मान्नु भएन अर्थमन्त्री, मानेन सरकार।
तर, कठिनाई छन्, प्रष्ट छ। यसपटक यी सबै चिज देख्दा के लाग्दछ भने सरकारले भनेझैँ, अर्थतन्त्र शिथिल मात्र होइन संकुचित हुँदैछ। यसपाली पोजेटिभ ग्रोथरेट हुन सक्ने कुनै पनि सम्भावना देखिन्न। त्यसमाथि कुल ग्राहस्थ उत्पादन बढेन र बाहिरबाट आउने विप्रेषणको आम्दानी २० प्रतिशतले कम आउँछ भन्ने देखेपछि खर्च योग्य आम्दानी झण्डै पाँच प्रतिशतले घट्ला वा अझ त्यो भन्दा पनि बढीले घट्ला चिन्ता छ।
त्यस्तो अवस्थामा सरकारले असार मसान्तसम्मको राजस्वको पनि अनुमान गर्न सकेको छैन। त्यसैले हरेक शीर्षकमा सरकार भन्छ २६ प्रतिशत घट्छ। यसकारण अस्तिको बजेटमा लेखेको भन्दा यसकारण कि अनुमान गर्ने आधार छैन। असार मसान्तसम्म के हुन्छ अनुमान गर्न नसक्ने अर्थमन्त्रालयले अर्को वर्षको बजेट प्रस्तुत गरेको छ, ८३ पेजको बजेट। त्यसमा छलफल गर्नु निरर्थक हो, निरर्थक छ र अहिले पनि त्यसलाई ध्यानमा राखेर हामीले अगाडिका दिनमा काम गर्नु पर्छ भन्ने हो।
अस्ति २२ गतेको सरकारको सम्पूर्ण आम्दानी जोड्दा ६ सय ८६ अर्ब छ। खर्च ८ सय ३१ अर्ब छ। दुई दिन अगाडि १ सय ४५ अर्ब बढी खर्च भइसकेको छ। आम्दानी भन्दा त्यसमा पनि अर्को ४५ अर्ब अन्य राजस्वलाई जोड्ने हो भने सरकारको आम्दानी भन्दा १ सय ९० अर्ब खर्च बढी भइसकेको छ।
आउने अझ कठिनाइपूर्ण छ। अब संक्रमणसँग लड्नका लागि गरिने खर्च तत्कालै एक डेढ महिनाभित्र दश÷१२ अर्ब भन्दा घटीको खर्च हुने स्थिति छैन। सरकार आफैँले पनि भन्छ, स्वास्थ्य मन्त्रालयमा बढाएको बजेटको आधीभन्दा बढी भाग कोरोनासँग सुरुमा दुई तीन महिनामा नै सकिने हुन्छ। अब पैसा कसरी पुर्याउँछ? हिँजो सरकार बन्दाखेरी ढुकुटी रित्तो छ भन्ने सरकार आज ढुकुटी के बनाएको छ, आफूले आफ्नो अनुहार ऐनमा हेरे हुन्छ।
त्यसैले चिन्ता छ सरकारसँग। यसपाली बढाएको चालु खर्चमा पुर्नउत्थान, राहत र सहुलियत भनेर अन्य सामाजिक सुरक्षा खर्च १७ अर्ब बढाएको छ। कसरी खर्च गर्छ सरकारले, त्यो विश्वास छैन ठिकसँग खर्च गर्छ भन्ने।
यो पाली बढेकोमा जसरी सरकारले अर्थमन्त्रालेको विविधमा ३० अर्ब र ऋण लगानीमा ३६ अर्ब त्यो पैसा जम्मा बढेको ६६ अर्ब मुलत कहाँ हुन्छ भन्दा विजुलीको उत्पादन, विजुलीको प्रशारणका लागि, मेलम्ची योजना पूरा गर्नका लागि, पोखरा विमानस्थल पूरा गर्नका लागि। यी सबै राष्ट्रिय गौरवका आयोजनाहरु हुन्। यी आयोजना पूरा गर्न सक्ने सरकारको क्षमता छैन भन्ने सुरुदेखि नै प्रमाणित भएको छ। सरकारले काम गरेको हेर्यौँ, यो वर्ष के भयो राष्ट्रिय गोरवका आयोजना त्यसबाट पनि स्पष्ट छ।
सरकारले समाजिक सुरक्षाको नाममा झण्डै १ सय २७ अर्ब खर्च सेवा निवृत्तको सुविधा यसैपालीदेखि ३८ अर्ब बढ्दैछ। भैपरिआउने खर्च अर्को १० अर्ब बढ्छ। यसरी सबै खर्चहरु गर्न सक्ने क्षमता र इमान्दारिता सरकारमा छैन।
इमान्दारिता छैन भन्ने प्रमाण सरकारले विजुलीबाट चल्ने गाडीहरुलाई एकदिन अगाडि जसरी भन्सार नउठाई छाड्यो र कमाउने बाटोमा लाग्यो त्यसबाट पनि सरकारको इमान्दारितामा प्रश्न उठेको छ। क्षमताको मात्रै कुरा होइन सभामुख महोदय, इमान्दारिताको पनि कुरा हो।
अहिले जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा चिन्तित छ, बाहिर बसेका नेपालीहरु कसरी देशमा पुग्ने भन्ने चिन्तामा हुनुहुन्छ। अनि सरकारमा बसेकाहरु कसरी कार्पेटको व्यवस्था गर्ने हो भनि मस्त छन्। कार्पेटको व्यवस्था गर्दैछ सरकार अनि सत्तारुढ दलका अरु मानिसहरु सत्ताको वाँसुरी र सत्ता सम्भावनाको बाँसुरी कुन धुनमा बजायो भने राम्रोसँग बज्दछ भनि प्रयत्न गरिरहेका छन्। यो भन्दा हास्यस्पद अरु केही हुन्न। नेपाली जनताको दुःखको घाउमा नून नछर्किनुहोस् भनि सधैँ भन्यौँ। अहिले पनि भन्छौँ, सगैँ बसौँ, काम गरौँ, जनताकाप्रतिको जिम्मेवारी हो त्यो पूरा गर्न एक ठाउँमा उभिनुपर्छ। राष्ट्रिय अठोटको आवश्यक छ। त्यो राष्ट्रिय अठोट तपाइहरुसँग छैन, त्यो इमान्दारिता देखाउन सक्ने आधार पनि बनाउन सक्नु भएन। लज्जाजनक स्थिति छ, फेरिपनि अनुरोध गर्छु, देश सबैको साझा हो मिलेर काम गरौँ। यो संकटबाट तपाईहरुले पार लगाउनु हुन्न। यति भनि आफ्नो कुरा टुंग्याउँछु। धन्यवाद।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय