हिमाल दैनिक
बजेट अपडेट: शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन
budget-bhAsan-samsad
सरकारले शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यो क्षेत्रमा उच्च बजेट विनियोजन गरेको जानकारी दिए । यो क्षेत्रमा चालु आर्थिक वर्षका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो । त्यस्तै मन्त्री खतिवडाले आउँदो वर्ष मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको पूर्वाधार निर्माण गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6 उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सुधार तथा पारमाणविक प्रयोगशाला स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गरेको बताए । प्रस्तुत बजेटमा आधारभूत शिक्षामा सबैको पहुँच, माध्यमिक शुल्क निःशुल्क, मदरसा र गुरुकुल शिक्षालाई प्राथमिकता दिइएको छ । बाँकी रहेका ३४ जिल्लालाई पूर्ण साक्षर बनाई आउँदो वर्ष साक्षर नेपाल घोषणा गरिने कुरा पनि बजेटमा उल्लेख छ । राष्ट्रपति शैक्षिक कार्यक्रममा ६ अर्ब विनियोजन गरिएको छ । कोरोनाबाट प्रभावित पढाइलाई भर्चुअल, अनलाइन, रेडियो टेलिभिजन कक्षा सञ्चालन गरेर अघि बढाइने छ । १ हजार ८ सय भवन र ३८ आंगिक क्याम्पस भवन स्थापना गर्न बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले बताए । बजेटमा छात्रवृतिलाई एकीकृत रुपमा लैजाने र यसबाट २६ लाख छात्रछात्रा लाभान्वित हुने गरी २ अर्ब ७० करोड विनियोजन गरिएको छ । देशभर दिवा खाजा कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि ७ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको छ। यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् । निःशुल्क पाठ्यक्रमका लागि २ अर्ब ७६ करोड विनियोजन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update