रुकुम–पश्चिमको चौरजहारी नगरपालिकामा भएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले सुरु गर्नासाथ विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाए। त्यसपछि सभामुख सापकोटाले कांग्रेस सांसद मीनबहादुर बिश्वकर्मालाई बोल्न समय दिए।
कांग्रेस सांसद बिश्वकर्माले विश्वभर फैलिएको कोरोना भाइरसले विश्वका मानिसहरु आतंकित भएपनि नेपालमा चार जनाको मात्रै ज्यान गएकोमा प्रधानमन्त्रीले हिँजोको सम्बोधनमा सन्तोष मानेको बताए।
रुकुमको चौरजहारीमा जेठ १० गते एक घण्टा भएको ‘नरसंहार’मा ६ जनाको ज्यान गएको बताउँदै उनले अहिलेसम्म रुकुमकी युवतीलाई विवाह गर्न गएका नवराज बिकसहित तीन जनाको लास भेटिएपनि बाँकी तीन जना अझै पनि भेरी नदीमा वेपत्ता रहेको बताए।
उनले त्रिशुलीमा बस खस्दा सरकारले रातारात समिति र आयोग बनाएर नेपाली सेना र गोताखोर परिचालन गरी लास पत्ता लगाउन कुनै जातको कुरा नगरी सरकार दौडिने गरेपनि जाजरकोटका नवराज बिश्वकर्मा रुकुमकी सुष्मा मल्लसँग एक वर्ष अगाडी प्रेमजालमा फँसेपछि विवाह गर्ने तयार भएको बताए।
दुबै पक्षका अभिभावकले थाहा पाएपछि प्रहरी प्रशासनमा एक वर्षअघि परेको उजुरीका कारण प्रहरीले उमेर नपुगेको भनि उमेर पुगेपछि विवाह गर्नु भनि कागज गराई छाडेको बताए।
पछिल्लो समय केटीले घरको दबाबमा अन्तै विवाह गरिदिन लागे भनि आफूलाई लिन आउ भनेर पठाएको खबरका आधारमा नवराज आफ्ना साथीहरुसहित रुकुमको सोतीमा गएको सांसद विश्वकर्माले बताए।
‘उनीहरु पुगेपछि वडाअध्यक्ष डम्मर मल्ल र केटीकी आमाले गाउँले बोलाएर चारतिरबाट नवराजसहित गएका अवोध बालकहरुलाई घेरा हालेर मानौँ ‘यो गढीमाईको मेलामा राँगा काटेजस्तै गरी’ सांघातिक आक्रमण गरिन्छ,’ विश्वकर्माले भने।
भेरी नदीको किनारमा चार किलोमिटरसम्म लखेटेको प्रसंगलाई एनिमल प्लानेट च्यानलमा जंगली जनावर बाघ र सिंहले निर्मम रुपमले निरिह हरिण लखेटेजस्तै लखेटेर मारिएको भन्दै उनले आपत्ति प्रकट गरे।
ज्यान जोगाउन भेरी नदीमा हाम्फालेकाहरु मध्ये पौडिन जान्नेहरु बाँचेपनि नजान्नेहरु डुबेर मरेपनि प्रहरी प्रशासनमा उजुरी दिन जाँदा उक्त घटनालाई तोडमोड गरी अल्मल्याउने काम भएको आरोप पनि उनले लगाए।
साथै उनले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको त होइन भन्ने आशंका व्यक्त गर्दै उनले भारतीय कलाकार नाना पाटेकरले हालै सामाजिक सञ्जालमा व्यक्त गरेको विचार अनुसार, कोरोना भाइरसले सबैको अहिले अछुत बनाएको छ भने सोचौँ जो हजारौँ सालदेखि मानिसहरुलाई कसरी अछुत बनाएर राखेको छ भन्ने प्रसंग उल्लेख गरे।
हजारौँ वर्षदेखि अछुत बनाएर राखेको ४ प्रतिशत समुदायले नेपालको राजनीतिक परिवर्तनमा रगत बगाएपनि अहिले पनि सत्ताको मारमा परिरहेको भन्दै विद्यमान ऐन अनुसार, छुवाछुत अन्त्य भएको घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन नभएकोमा रोष प्रकट गरे।
साथै उनले उक्त घटनाको विषयमा अनुसन्धान र छानविनका लागि संसदीय समिति गठन गर्न र दोषीमाथि कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय