नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्योगपति विनोद चौधरीले निम्न आय भएका श्रमिक, मजदुर र कामकाजीलाई कोरोनासँगसँगै भोकबाट बचाउन आवश्यक रहेकामा जोड दिएका छन्।
‘सरकारले नीति तथा कार्यक्रममा थुप्रै नयाँ र पुराना योजना ल्याएको छ,’ प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै सांसद चौधरीले भने, ‘तर, दैनिक हातमुख जोर्न इलम गर्ने नागरिकको सुरक्षामा हामी संवेदनशील हुनुपर्ने अवस्था आएको छ। रिक्सा चलाउने, मजदुरी गर्ने, नाङ्लो पसल गर्ने वर्ग कोरोनाभन्दा पहिले भोकबाट मरिने त्रासमा बाँचिरहेको छ। उनीहरूलाई जोगाउने पहल गर्न ढिला गर्नु हुदैन।’
अहिलेको प्राथमिकता पहिले बाँच्नु र बचाउनु रहेको भन्दै चौधरीले गुमेका रोजगारी, बन्द उद्योगधन्दालाई जीवित राख्न तत्काल सरकारले कदम चाल्नुपर्ने बताए। ‘अहिले भइरहेका उद्योगधन्दा बन्द भइराख्ने हो भने भोलि नयाँ उद्योग खुल्लान् र अर्थतन्त्र सबल होला भनेर सोच्नु दिवास्वप्न मात्रै हो।’
विदेशबाट फर्किएर आउने र स्वदेशकै श्रमबजारमा थपिने युवालाई कृषिमा सहभागी बनाउन सकिने नीतिको चौधरीले समर्थन गरे। कृषि क्षेत्रलाई बलियो बनाउन सकियो र भारत र चीनबाट आयात हुने तरकारी÷फलफूलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन सकियो भने नेपालको अर्थतन्त्रले काँचुली फेर्न सक्ने उनले बताए। भारत र चीनका कृषि उपजभन्दा नेपालको उत्पादन ३० प्रतिशतभन्दा महँगो पर्ने तथ्यांक उनले राखे।
‘नेपालमा कृषियोग्य जमिन, उत्पादन लागतजस्ता ठूला समस्या छन्। सिँचाइका सामग्री र रासायनिक मलको अनुदान नगन्य छ, सरकारले कृषिमा खुला हृदयले अनुदान अगाडि बढाएन भने आयातीत कृषि उपजभन्दा नेपालकै उत्पादन महँगो भइरहन्छ,’ उनले भने, ‘जापान र अमेरिकाजस्ता मुलुकले कृषिमा खुला हृदयले अनुदान दिएका छन्। तर, हामीले भने किसानलाई अनुदान कटौती गरेका छौँ। कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विश्व बजारमा प्रतिस्पर्धी उत्पादनका लागि सबल बनाउनु हाम्रो दायित्व बनेको छ। तबमात्र यो क्षेत्रमा क्रान्ति आउँछ।’
सामुदायिक वन अवधारणाले संसारलाई प्रेरित गरेको उदाहरण दिँदै कृषिमा पनि त्यस्तै अवधारणाले काम गर्न सकिए मुलुकको अर्थतन्त्रले कोल्टे फेर्ने चौधरीले बताए।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय