नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रममा राखिएका विषयवस्तुप्रति आफूलाई कुनै विश्वासो भ्रम नभएको भन्दै सरकारको चुकुल खुस्काइदिएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाको बैठकमा सोमबार भाग लिँदै नेता थापाले कोरोना संक्रमणबाट प्रताडित जनता र खाडी मुलुक र भारतीय सीमामा अलपत्र परेका नागरिकलाई ल्याउन र जोगाउन नसक्ने सरकारले आफ्नो देशको माटो जोगाउन र अतिक्रमित भूमि फिर्ता ल्याएर जोगाउँछ भन्ने रत्तिभर भ्रम नभएको बताए।
आफूले पाएको तीन मिनेटको समयमा अनगिन्ती विषयवस्तुको विश्लेषणसहितका प्रश्न उठाउँदै सरकारको नीति तथा कार्यक्रमले निराश वा आक्रोसित भन्दा पनि लज्जित भएको बताए।
https://youtu.be/FyjyQ-iT6Bw
सांसद गगनकुमार थापाले सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा व्यक्त विचारः,
सम्माननीय सभामुख महोदय,
प्रमुख प्रतिपक्षी दलका नेताले यो सरकारसँग जनताको पीडा बुझ्ने हृदय छैन भन्नु भयो, माननीय प्रदिप गिरिले यो सरकारलाई गीतको नसा लागेको छ भन्नु भयो।
तर, कुरा त्यतिमात्र होइन।, दुई अमेरिकन साइकोलोजिष्ट डर्निङ र क्रुगरले १९९९ मा गरेको एउटा अध्ययनले एउटा रोचक तथ्य अगाडि सारेको थियो। केही कम क्षमता भएका मानिसलाई के लाग्दछ भने उनीहरुसँग अद्भूत क्षमता छ। आफूलाई ज्ञान नै नभएको विषयमा आफूलाई गज्जबको ज्ञान भएको भ्रान्ति उनीहरुमा हुन्छ।
यस्तो संज्ञानात्मक पूर्वाग्रहलाई डर्निङ÷क्रुगर इफेक्टको नाम दिइएको थियो। डर्निङ भन्छन् यस्तो प्रभाव सामान्य मान्छेमा हुँदा कम क्षति हुन्छ। तर, कुनै कम्पनीको मालिक वा देश चलाउनेलाई यस्तो भयो भने बर्बादै हुन्छ। त्यसमाथि यस्तो कम क्षमता भएका मानिसको वरिपरी रहनेहरुले हुँदै नभएको ज्ञान र क्षमतामा पनि क्या वात, क्या वात भनिरहे भने देश वा कम्पनी दुर्घटनामै पर्न सक्छ।
यो नीति तथा कार्यक्रम पढिरहँदा यस्तै प्रभावले ग्रस्त भएर हाम्रो नेपाल दुर्घटनाको नजिक पुगेको भान मलाई भएको छ।
यो दस्तावेज प्रधानमन्त्रीले एक्लै लेख्नु भएको कविता जस्तो होइन। न कुनै मन्त्रीहरुले लुकेर लेख्नु भएको अध्यादेश जस्तो नै हो। यो त पहिले लेखियो होला, सचिव, मन्त्री, प्रधानमन्त्रीको टिम अनि प्रधानमन्त्रीले यहाँ ल्याउनु भन्दा पहिला पटक पटक पढ्नु भयो होला, हेर्नु भयो होला।
यो महामारीले गर्दा विश्वको व्यवस्था र अवस्थामा कसरी खल्बल्याएको छ यसबाट हामी अछुतो होइन, हामी झन बढी प्रभावित भएका छौँ, हुँदै जानेछौँ भनेर यो दस्तावेज लेख्दै गर्दा कसैले भनेन? नागरिकको खल्ति खाली हुँदा यसले घरको खुत्रुके मात्र रित्तिने होइन देशको ढुकुटी पनि रित्तिसक्यो, त्यसैले यो बेला यो पनि गरिने छ, त्यो पनि गरिनेछ भनेर नलेखौँ भनेर कसैले भनेन?
घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दा बारीदेखि भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ, तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने हो लेखौँ भनेर कसैले भनेन?
रोजगारी बृद्धि, हुन्छ नेपालको संमृद्धि भन्ने नारा लेखिँदै गर्दा सभामुख महोदय, यहि दुई महिनामा लाखौँ मानिस जो हिँजो रोजगारी पाएका थिए उनीहरु व्यरोजगारी भइसके भनेर कसैले भनेन?
भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भनेर नारा खेल्दै गर्दा भोकले मरिसके भनेर कसैले भनेन?
सरकारको अभूतपूर्व कामले संक्रमण नियन्त्रण भयो भनेर लेखिरहँदा संक्रमण कम भएको होइन, परिक्षण कम भएको हो भनेर कसैले भनेन?
कोभिड–१९ बाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली हो, यस्तै प्रवृत्ति हो, यस्तै काम गर्ने तरिका हो र यस्तै तयारी हो भने अबको केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न भ्याईदैन भनेर कसैले भनेन? भनेन, गरेन, त्यसैले सम्माननीय सभामुख महोदय, यो दस्तावेज पढ्दै गर्दा म निराश र आक्रोसित होइन, म लज्जित भएको छु।
https://www.facebook.com/himaldainik/videos/694173534748960/?t=6
लिम्पियाधुरा सहितको समावेश गरेको नक्सा निकालिन्छ र सँगसँगै भूभाग समेटिनका लागि पहल गरिन्छ भन्दै गर्दा मेरो माननीय साथीहरु सँगसँगै मैले पनि टेबुल ठटाँए। ठटाए, किन कि नक्सा पनि बनाइन्छ, लुटेको भूभाग फिर्ता पनि ल्याइन्छ।
तर, घर गएर आफैलाई सोधेँ, जसले सीमानामा अलपत्र परेको मेरो नागरिक साथीलाई जोगाउन सक्दैन त्यसले मेरो सीमा जोगाइदिन्छ? जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन त्यसले मेरो भूमि ल्याइदिन्छ?
यो संसदमा कहिले काँही बहस हुन्छ, राष्ट्रियता भनेको माटो हो कि मान्छे हो? दुईटै हो सभामुख महोदय, माटो पनि हो र मान्छे पनि हो।
जसले आफ्नो मान्छे चिन्न सक्दैन, जसले आफ्नो मान्छे जोगाउन सक्दैन, त्यसले माटो जोगाउन पनि सक्दैन। जसलाई पसिनाको गन्धको आनन्दको अनूभूति हुँदैन पसिनाको गन्धले त्यसले माटोको सुगन्ध पनि थाहा पाउन सक्दैन।
त्यसैले मलाई यसले मान्छे जोगाउन नसक्ने सरकारले भूमि जोगाइदिन्छ, मेरो मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर पनि भ्रम छैन।
धन्यवाद।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय