नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरसको महामारीमा प्रताडित जनतालाई जोगाउने भन्दा पनि सरकारले सेना लगाएर अपमानित गरिरहेको आरोप लगाए।
सरकारको नीति तथा कार्यक्रममाथि सोमबार जारी प्रतिनिधि सभाको छलफलमा भाग लिँदै नेता सिंहले राष्ट्रिय सुरक्षामा खटाउनु पर्ने नेपाली सेनालाई प्रहरीले गर्ने शान्ति सुरक्षाको काममा लगाएको भन्दै आपत्ति समेत प्रकट गरे।
आइतबार कालिमाटी क्षेत्रमा खटिएका सेनाका सुरक्षाकर्मीहरुले अस्पतालमा भर्ना गरिएकी श्रीमतीको उपचारका लागि रगत लिन गएका घनश्याम झालाई सेनाको जस्तै सर्ट लगाएको भन्दै कपडा खोल्न लगाएर नाङ्गै बनाएर पठाउको घटनाप्रति नेता सिंहले सरकारले के गर्न खोजेको भनि प्रश्न गरे।
‘राष्ट्रिय सुरक्षामा लगाउनु पर्ने सेनालाई प्रहरीले गर्ने शान्ति सुरक्षा कायम गराउने कार्यमा किन लगाउने काम भइरहेको छ। जनतालाई किन अपमानित गरिरहेको छ? यसबाट सरकारको नियतप्रति सबै सजग हुनु पर्ने बेला आएको छ,’ उनले भने।
सरकार आउनु अघिदेखि नै ६ प्रतिशत आर्थिक वृद्धिदर रहेको भएपनि चैतमा लकडाउन आदेश जारी गर्नु अघि राजस्व ५० प्रतिशत पनि उठ्न नसकेको, विकास खर्च पनि २५ प्रतिशत र अनुदानमा पनि २८ प्रतिशत भन्दा बढि आउन नसकेको भन्दै सरकार आर्थिक रुपमा ठिक तबरले अघि बढ्न नसकेको दाबी गरे।
लिपुलेक, कालापानी क्षेत्रसहितको नक्सा कुनै देशको अनुमतिमा नभई नेपाल आफैले आफ्नो भूभागसहितको नक्सा बनाउनु पर्ने माग उनले गरे।
विदेशमा रहेका नेपाली र सीमा नाकामा रहेका नेपालीहरुको सुरक्षित रुपमा नेपाल ल्याउन पनि उनले सरकारसँग माग गरे।
साथै उनले गुठी जग्गा संरक्षणको नाममा परापूर्व कालदेखि चलिआएको नेपाली संस्कृति र परम्परामाथि अतिक्रमण स्वीकार्य नहुने चेतावनी दिए।
सरकार नपुगेको ठाउमा पत्रकार कसरी पुग्यो भन्ने प्रधानमन्त्रीले लिपुलेक लगायतको क्षेत्रमा बनाएको सडकबारे किन जानकारी पाउन नसकेको भनि प्रश्न समेत उनले गरे।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय