हिमाल दैनिक
‘दक्ष श्रमिक सरकारको प्रमुख श्रम नीति’
rastrapati bhandari samsad ma
सरकारले दक्ष श्रमिक, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षणसहितको श्रम व्यवस्थापन प्रमुख श्रम नीति अख्तियार गरेको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको नीति तथा कार्यक्रममा कामको सम्मान तथा स्वरोजगारलाई प्रमुख नीतिमा समेटिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वस्थ्य नागरिक, गुण र प्रविधिमा आधारित शिक्षा, उत्पादनमैत्री वित्तीय प्रणाली र उद्यमशील वातावरण रोजगारीका आधारस्तम्भ भएको बताईन । यी आधारस्तम्भको विकास र सदुपयोग गरेर व्यापक रोजगारीका अवसर सिर्जना गर्ने सरकारले विश्वास लिएको छ । पर्याप्त आन्तरिक रोजगारी भई नसकेको अवस्थामा कोभिड–१९ को विश्वव्यापी महमारीले स्वदेशको रोजगारी सङ्कुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपाली फर्किने सम्भावित परिस्थितिले बेरोजगारको सङ्ख्या बढ्ने जोखिम देखिएको औँल्याउँदै बेरोजगारको सम्भावित पङ्क्तिलाई व्यावसायिक कृषि, बृहत् भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिने नीति कार्यक्रममा उल्लेख छ । सीपयुक्त र दक्ष श्रमिकको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप विकाससम्बन्धी सबै निकायका कार्यक्रमलाई एकीकृतरुपमा परिचालन गरिने छ । आवश्यकताअनुसार सबै स्थानीय तहमा छोटो अवधिका घुम्ती तालीम सञ्चालन गरिने नीति कार्यक्रममा जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update