सरकारले काभ्रे र तेह्रथुममा नयाँ विमानस्थल निर्माण गर्ने भएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई आन्तरिक विमानस्थलको निर्माण सुरू हुने बताएकी हुन् । त्यस्तै निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामी वर्ष सञ्चालनमा आउने भएको छ । त्यसैगरी त्रिभुवन अन्तराष् िट्रय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गरिने जनाइएको छ, नीति तथा कार्यक्रममा आगामी वर्ष पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न गर्ने र निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउने उल्लेख छ ।
त्यस्तै कोभिड १९ ले पारेको प्रभावलाई दृष्ट्रिगत गरेर दीगो पर्यटन उत्थान कार्यक्रम ल्याइने भएको छ ।पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाइने भएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको सबै खण्ड चार लेनको बनाइने उल्लेख छ । बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको विस्तार तीन वर्षभित्र सकिने उल्लेख छ । काठमाण्डौ–तराई मधेश फास्ट ट्र्याकको काम तीन वर्षमा सक्ने नीति तथा कार्यक्रममा बताइएको छ ।
आउँदो आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको तीन सय किलोमिटर, हुलाकी राजमार्गको दुई सय ५० किलोमिटर र उत्तर–दक्षिण कालीगण्डकी करिडोर ९० किमि सडक कालोपत्रे गरिने कार्यक्रममा उल्लेख छ । त्यस्तै नागढुङ्गा–नौबिसे सुरुङको एक किलोमिटर काम आउँदो वर्ष सक्ने र पाल्पाको सिद्धबाबामा सुरुङ निर्माण थालिने राष्ट्रपति भण्डारीले बताईन ।
त्यस्तै वैशाख २०७२ को भूकम्पले भत्काएका संरचना आगामी आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आवश्यक नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्री र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था गरिने राष्ट्रपति भण्डारीले बताईन ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय