विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथिको अन्तिम दिनको छलफलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरुले बोल्न समय नपाएपछि सदनको कारबाही केहीबेर प्रभावित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले साँझ ५ बजेतिर छलफलको क्रम सकिएको भन्दै सांसदहरुले उठाएका प्रश्नहरुको जवाफका लागि अर्थमन्त्री युवराज खतिवडालाई समय दिन लाग्दा सत्तापक्षका सांसद गंगा सत्गौवा, नारायण मरासिनी लगायतका सांसदहरुले आफूहरुलाई बोल्न समय नदिएकोमा आक्रोस व्यक्त गरे।
https://www.facebook.com/himaldainik/videos/877833986068896/?t=0
उनीहरुले आफूहरु थारु समुदाय अथवा समानुपातिक तर्फको भएको कारण अथवा अन्य कुनै कारण आफूहरुलाई बोल्न नदिएको भन्दै विरोध गरे।
जवाफमा सभामुख सापकोटाले संविधान र ऐनको व्यवस्था अनुसार, बजेट प्रस्तुत गर्नु १५ दिनअघि छलफल सक्नु पर्ने बाध्यता रहेको बताउँदै सांसदहरुलाई दलीय आधारमा समय निर्धारण गरेको बताउँदै बस्न आग्रह गरे।
तर, पनि सत्तापक्षका केही सांसदले पछाडिबाट होहोल्ला गरेर बैठकको माहोल विथोलीरहँदा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ मौन बसिरहेका थिए।
संसदीय अभ्यास र प्रक्रियामा कुनै पनि विषयमाथिको छलफलका क्रममा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रमुख सचेतक र सचेतक लगायत दलको तर्फबाट प्राप्त नामावलीका आधारमा सांसदहरुलाई बोल्न समय दिने गर्दछन्।
तर, आजको बैठकमा सत्तापक्षको तर्फबाट प्राप्त समय र नामका आधारमा सांसदले बोल्ने गरेपनि सत्तारुढ दलभित्रको आन्तरिक विवाद र असन्तुष्टि सदनभित्र छचल्किएको थियो।
त्यसपछि सचेतक शान्ता चौधरीले गएर विरोधमा उत्रिएका सांसदलाई सम्झाएर सभामुखले अर्थमन्त्रीलाई बोल्न समय दिएपछि पनि सांसद सत्गौवा र मुस्ताङबाट निर्वाचित सांसद विरोध गरिरहेका थिए।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय