चालु बजेट अधिवेशनको सुरुवातदेखि आजसम्म एकदिन पनि प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसदमा अनुपस्थित रहेपछि विपक्षी दलका सांसदले उनको अनुपस्थितिको कारणबार प्रश्न उठाएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री ओलीको अनुपस्थितिबारे जानकारी मागेका हुन्।
साथै उनले केही दिनअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानको क्रममा प्रधानमन्त्री ओलीले कोरोना कहरको अन्त्य लगत्तै पार्टी नेता वामदेव गौतमलाई प्रतिनिधि सभा सदस्य बनाएर नयाँ प्रधानमन्त्री बनाउने आश्वासन दिएको समाचारप्रति पनि संवैधानिक प्रश्न उठाए।
सांसद बडुले भने, ‘हाम्रो सम्माननीय प्रधानमन्त्रीजी चाल अधिवेशनको सुरुदेखि नै संसदमा देखिनु भएको छैन, अनुपस्थित हुनुहुन्छ। मिडियाहरुबाट जानकारी भए अनुसार, उहाँले आफ्नो उत्तराधिकारीका रुपमा भावी प्रधानमन्त्री पनि घोषणा गरेको सुनियो। आफ्नो उत्तराधिकारी आफैले तोक्नु पर्ने यो कुन संविधानको वन्दोबस्त हो? वर्तमान संविधानमा देखिएन।’
नेपालको संविधानले प्रधानमन्त्री पदमा निर्वाचित हुन प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुका साथै सबै भन्दा ठूलो दलको बहुमत सदस्यहरुको समर्थन प्राप्त सांसद प्रधानमन्त्रीमा नियुक्त हुन सक्ने व्यवस्था छ।
नेता बडूले प्रधानमन्त्रीको अनुपस्थितिबारे जिज्ञासा राख्दै उनी आफ्नो उत्तराधिकारी चयनकोे बन्दोवस्तीमा व्यस्तताका कारणले संसदमा अनुपस्थित भएको हो वा वा अन्य कुनै अत्यन्त महत्वपूर्ण कारणले हो यसबारे संसदमा जानकारी गराउन माग समेत गरे।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय