हिमाल दैनिक
नेपाली भूमिमा एकतर्फी रुपमा भारतले सडक निर्माण गरेको विषयमा सांसदहरुले निरन्तर आवाज उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा पनि सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदहरु सबैले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले हालै मानसरोवर जाने सडक निर्माण गरेको विषयमा यसलाई देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि अतिक्रमण गरेको आरोप लगाए। साथै कतिपय सत्ता र प्रतिपक्षी दलका सांसदहरुले राष्ट्रियतामाथि भारतले नांगो आक्रमण गर्दा पनि सरकारले वक्तव्यवाजी गर्ने बाहेक कुनै सार्थक कुटनीतिक पाइला नचालेको भन्दै सरकारको समेत आलोचना गर्दै नेपाली भूमिको रक्षा गर्न माग गरेका थिए। आजको बैठकमा शून्य समयमा सांसदहरुले बोलिसकेपछि नियमित कार्यसूचिमा प्रवेश गर्नु अघि सभामुख सापकोटाले विगत तीन दिनदेखि सांसदहरुले शून्य समयमा उठाएका विषयहरु बहुआयामिक महत्वका विषय भएको बताउँदै यस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update