नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले कोरोना संक्रमणको त्रासमा अलपत्र परिरहेका नेपालीहरुको उद्दार र व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाउँदै सत्तारुढ दल र सरकारी नेतृत्वमो राष्ट्रियतामाथि प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले भारत र खाडी मुलुक लगायत विश्वका कतिपय देशमा खाने र बस्ने समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउन र उनीहरुलाई क्वारेन्टिनमा राख्न उदासिन भएको भन्दै सरकारको चर्को आलोचना गरे।
उनले भने,
‘कोरोना महामारीको कारण सरकार एकातिर भन्छ हामीले कन्ट्रोल गरिरहेको छौँ। अर्कोतर्फ आफ्नै नागरिक विदेशमा चाहे भारतमा होस् वा गल्फ कन्टीमा, विचल्ली र अलपत्र परिरहेका छन तर, उनीहरुको बारेमा केही सोचिरहेको छैन। खासगरी नेपाल–भारत सीमा क्षेत्रमा धेरै नेपालीहरु अलपत्र परिरहेका छन्, उनीहरुले खान पाइरहेका छैनन्, क्वारेन्टाइनमा पनि बस्न पाइरहेका छैनन्। तर, सरकारले जहिले पनि भन्छ कि हामी सबैलाई सम्बन्धीत देशमा व्यवस्था गर्छौँ। आफ्ना नागरिकको व्यवस्था गर्ने जिम्मा सरकारको हो। उनीहरु नेपाली नागरिक हुन कि होइनन्? जनतामा राष्ट्रियता नदेख्ने, सीमा नाकामा जनता खान नपाएर बसेका छन्। जनतामा राष्ट्रियता नदेख्ने, ढुंगामा राष्ट्रियता देख्ने यो कस्तो राष्ट्रियता हो? त्यसैले नेपालीहरु विश्वको जुनसुकै कुनामा भए पनि उनीहरुलाई नेपालमा ल्याउने र क्वारेन्टिनमा राख्ने व्यवस्था गरियोस्।’
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय