नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भारतीय पक्षबाट लिम्पियाधुरादेखि लिपुलेकसम्मको नेपाली भूभाग अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गर्दा पनि सरकार मुकदर्शक बनेर बसिरहेको आरोप लगाए।
भारतले मानसरोवरसम्मको सडक उद्घाटन गरेको विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले प्रतिनिधि सभामा जानकारी दिएलगत्तै प्रतिप्रश्न गर्ने क्रममा नेता थापाले भने, ‘भारतको हस्तक्षेप अतिक्रमणको घोर भत्सना गर्दछु। केही समय अगाडि रक्षामन्त्रीजीले यो ठाउँको अवलोकन गर्नु भएको थियो। के त्यो तीर्थ यात्रा थियो? थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बिचमा के काम गर्यो?’
केही समयअघि रक्षामन्त्री ईश्वर पोखरेल हेलिकप्टरमार्फत लिपुलेक, लिम्पियाधुरा क्षेत्रको भ्रमणमा गएपनि नेपालको सीमाक्षेत्र वारीबाटै फर्र्किएका थिए।
साथै उनले भारतीय पक्षबाट पछिल्लो समय जारी विज्ञप्ति अनुसार उसले बनाएको सडक उसको आफ्नै भूभागमा बनाएको र यसबारे कोरोना संक्रमणपछि वार्ता गर्ने भनाईप्रति आपत्ति प्रकट गरे।
‘भारतले हाम्रो भूभागमा बनाएका हौँ र संक्रमण सकिएपछि तपाईहरुसँग छलफल गरौँला। के नेपालले अब रिग्रेट गरेरमात्रै बस्ने हो? वा हाम्रो भूमि तिमिलाई प्रयोग गर्न दिँदैनौँ भनेर अब्जेक्ट गर्ने हो? हाम्रो भूमिमा एक इन्च पनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रष्टसँग भन्ने हो? भारतको यो दादागिरि र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार छ। सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ हामी जान्न चाहन्छौँ’ थापाले भने।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय