हिमाल दैनिक
भट्टराईद्वारा प्रम ओलीको राजीनामा माग, स्वास्थ्य अवस्थासँगै काम पनि राम्रो भएन, राजीनामा दिनुहोस्
Baburam Bhattarai
जनता समाजवादी नेपाल पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र कार्यशैलीको कारण पदबाट राजीनामा दिन माग गरेका छन्। संघीय संसदको बजेट अधिवेशन सुरु भएको पहिलो दिन तत्कालिन समाजवादी पार्टी नेपालको तर्फबाट बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीले देशलाई संकटबाट पार लगाउने क्षमता गुमाएको दाबी गर्दै उनलाई पदबाट राजीनामा दिन सुझाव दिए। कुनै पनि व्यक्ति लामो समय पदमा बसेकै भरमा उसको मूल्यांकन नहुने बताउँदै आफुहरुको चाहना सत्ताको नेतृत्व बदल्ने सवालमा अरु दल कसैको दाबी नभएको तर, सत्तारुढ दलले नै आफूभित्रैबाट नेतृत्वको विकल्प खोज्न र मुलुकलाई राष्ट्रिय सहमतिका आधारमा अघि बढाउन सुझाव दिए। ‘शिखरमा चढ्न सकिन्छ, शिखरमा टिकीरहन कठिन हुन्छ,’ भट्टराईले थप्दै भने अब बल प्रधानमन्त्रीकै कोर्टमा छ। उनले जेलमा रहेको रेशम चौधरीको रिहाईसँगै नेत्रविक्रम चन्दको समूहलाई पनि आम माफी दिएर राजनीतिको मूलधारमा ल्याएर मुलुकलाई सहि राजनीतिक दिशामा अघि बढाउन सुझाव दिए। उनले कोरोना भाइरसको महामारीविरुद्ध सरकारले देश र जनतालाई सुरक्षा दिन र आवश्यक व्यवस्थापन गर्न असफल भई मुकदर्शक बनेको आरोप लगाएका छन्। उनले विदेशमा कोरोनाका कारण रोजगारी गुमाएर नेपाल फर्कन चाहने नेपालीलाई सरकारले ल्याउन सकिँदैन र त्यहि बस भन्नु संविधानको प्रावधान विपरित देश निकाला गरेजस्तै भएको आरोप लगाए। सत्तापक्षका नेताले सरकारले लिएका कदमहरुको बचाउ गरेकोप्रति नेता भट्टराईले भन्नका लागि सबै ठिकठाक रहेको भएपनि वास्तविकतामा केही ठिकठाक नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले विश्वमा रहेको ध्रुवीकरणको पुरानो संरचना भत्किने अवस्थामा रहेको बताउँदै त्यसमा पश्चिमा मुलुकको शक्ति पूर्वतिर आउन सक्ने अवस्था रहेको र यसमा नेपालले समयमा ध्यान पुर्याएर कदम चाल्न सक्नु पर्ने बताए। विश्व मानव सभ्यता नै संकटमा परिरहेको अवस्थामा सरकारको नेतृत्वले संविधान विपरित निरंकुशतातर्फ जान पार्टी फुटाउन र संवैधानिक निकायको कब्जा गर्नेदेखि सांसद अपहरण गर्ने जस्ता घृणित खेलमा संलग्न भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे। ‘एउटा देशको प्रधानमन्त्री जो सिंगो देशको अविभावकको रुपमा रहन्छ उसले अर्को दल फुटाउने योजना बनाएर अध्यादेश ल्याउनेदेखि सांसद र पूर्व आइजीपीलाई लगाएर सांसद अपहरण शैलीमा राजधानी ल्याउन किन आवश्यक पर्यो?’ उनले प्रश्न गर्दै सांसदको अपहरणको विषयमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन नमानेको अवस्थाले मुलुक आतंकको अवस्था रहेको बताए। गाउँमा कुनै फटाहले अरुलाई मुद्दा लगाएर दुःख दिएपछि आफूले गरेको गल्तीको ढाकछोप गर्ने कोशिश गरेजस्तै प्रधानमन्त्रीको गतिविधि लोकतान्त्रिक शासन र कानून विपरित गएको आरोप उनले लगाए। देशमा ३८ जना प्रधानमन्त्री बनेपनि बी.पी. कोइराला लगायत केहीको मात्र नाम सम्झिएजस्तै कुर्सीमा लामो समयसम्म बस्दैमा कसैले नसम्झिने बताए।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update