हिमाल दैनिक
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको असर संघीय संसदको अधिवेशनमा पनि परेको छ। बजेट अधिवेशनका रुपमा परिचित संसदको शुक्रबारदेखि सुरु हुन लागेको संघीय संसदको अधिवेशनमा विगतमा जस्तो सरकारको नीति तथा कार्यक्रममाथिको छलफल र धन्यवाद प्रस्ताव पारित भएपछि सुरु हुने सरकारको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफलको प्रक्रियामा फेरबदल भएको छ। सरकारी सुझाव र तयारीका आधारमा संसद सचिवालयले यसवर्ष भने पहिले बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल पश्चात मात्रै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तयारी गरेको छ। संसद सचिवालयले दिएको जानकारी अनुसार, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेश गर्ने कार्यसूचि तय गरेको छ। त्यसअघि प्रतिनिधिसभामा वैशाख २८ देखि ३० गतेसम्म तीन दिन सरकारको आगामी वार्षिक बजेटका सिद्धान्त अर्थात प्रिबजेट छलफल हुने छ। राष्ट्रियसभामा भने २८ र २९ गते मात्रै प्रिबजेट छलफल गर्ने गरी तयारी भइरहेको छ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन पहिले नै प्रिबजेट छलफल गरिसक्नुपर्ने हुन्छ। संसद अधिवेशन वैशाख २६ गते ४ बजेका लागि आह्वान गरिएको छ। बैठकअघि संघीय संसदको संयुक्त तथा प्रतिनिधि सभा बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्ष सिट लगायत समग्र व्यवस्थापनबारे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दहाल, कानून मन्त्री शिममया तुम्बहाम्फे लगाएतले अवलोकन गरेका थिए। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसद भवनलाई कोरोनाको त्रास र संभावित जोखिमबाट जोगाउनका लागि सबै तयारी गरिएको जानकारी दिए। बैठकको तयारी अनुसार सांसदहरुलाई आसनबाटै बोल्ने व्यवस्था गरिएको छ भने सिटको दुरी पनि कायम गरिएको छ। बिहिबार नै संघीय सांसदहरुको कोरोना परिक्षण पनि गरिएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update