हिमाल दैनिक
संघीय संसद अन्तर्गतको बिकास तथा प्रविधि समितिले विदेशबाट फर्किनेहरुलाई रोजगारी दिने गरी विशेष राहत प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कोरोना संक्रमणका कारण बिदेशबाट सयौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएको भन्दै उनीका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई निर्देशन दिएको हो । साथै लकडाउनको समयमा विकास निर्माणका काम जारी राख्न समितिले सरकारलाई निर्देशन दिएको छ । सरकारले पनि विकास निर्माणका ठूला आयोजनाको काम सञ्चालन गर्ने भनेको भएपनि निर्माण सामाग्री र मजदुरको अभाव रहेको भन्दै समितिले विकास निर्माणका काम जारी राख्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिले राहत वितरण दलीय आधारमा भएको गुनासो आएको भन्दै निष्पक्ष हुने गरी मापदण्ड बनाउन निर्देशन दिएको छ भने मजदुरहरुलाई राहत दिन निर्देशन दिएको समितिकी सभापित कल्याणी खड्काले जानकारी दिईन । समितिको बैठकमा सांसदहरुले विकास निर्माण क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुरको अवस्था निकै पीडादायी रहेका कारण उनीहरुलाई सुरक्षिततवरले काममा लगाउनुपर्ने बताएका थिए । ठोस निर्णयविना नै राहत वितरण हुने गरेका कारण स्थानीय, प्रदेश र केन्द्र सरकारको एउटै नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव समिति सदस्यहरुले दिएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update