भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग आफ्नो देश र जनताको कुनै कटुता नरहेको दाबी गर्दै कुनै समस्या भए त्यसको वार्ताका माध्यमबाट समाधान गर्ने बताएका छन्।
सोमबार एक कार्यक्रममा भारतीय रक्षामन्त्री सिंहले दुई देशबीचको सम्बन्धलाई कुनै सामान्य सम्बन्ध नभएको बताउँदै गर्दै यसलाई दुनियाको कुनै पनि तागतले टुटाउन नसक्ने दाबी पनि गरे।
‘भारत र नेपालबीचको सम्बन्ध कुनै सामान्य सम्बन्ध होइन। भारत र नेपालबीचको सम्बन्ध दाजुभाई दिदीबहिनीहरु, यो रोटी र बेटीको हाम्रो सम्बन्ध हो। दुनियाको कुनै तागतले पनि यो सम्बन्धलाई टुटाउन सक्दैन। छैन,’ उनले भनेका छन्।
https://www.facebook.com/himaldainik/videos/916161602192598/?t=0
सन १८१६ को सुगौली सन्धीका आधारमा नेपालको भूभागका रुपमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई ८ महिनाअघि आफ्नो राजनीतिक र प्रशासनीय नक्सामा राखेर केही हप्ताअघि मात्रै उक्त क्षेत्रबाट मानसरोवर जाने सडक उद्घाटन गरी भारत र नेपालबीचको आन्तरिक द्वन्द्धलाई चर्काउने कार्यमा संलग्न मन्त्री सिंहले आज नेपालसँगको सम्बन्धकाबारेमा यस्तो धारणा व्यक्त गरेका हुन्।
उक्त क्षेत्रलाई आफ्नो नक्सामा राखेपछि नेपालले भारतलाई कुटनीतिक नोटमार्फत आपत्ति जनाएको भएपनि सडक निर्माणपछि देशभित्र उत्पन्न चर्का राजनीतिक र नागरिक तहको दबाबपछि सरकारले उक्त क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो।
उक्त नयाँ नक्सालाई नेपालको संविधानको धारा ९ को अनुसूचि ३ मा उल्लेखित निशान छापमा रहेको नक्सा संशोधन गर्न प्रतिनिधि सभाको शनिबारको बैठकले सर्वसम्मत पारित गरेलगत्तै भारतीय विदेश मन्त्रालयले आपत्ति जनाएको थियो।
संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा विचाराधिन अवस्थामा रहेकै बेला भारतीय रक्षामन्त्री सिंहले अझै पनि उक्त भूभाग आफ्नै भएको सन्देश दिनेगरी अभिव्यक्ति भने दिन छाडेनन्।
उनले थप्दै भने, ‘यदि लिपुलेकदेखि धार्चुलासम्मको सडक बनेको कारण यदि कुनै गलत भावना नेपालीहरुमा उत्पन्न भएको भए मलाई लाग्दछ, यो समस्याको समाधान हामी मिलेर बसेर निकाल्ने छौँ। हामी बाचचितको माध्यमबाटै त्यसको समाधान निकाल्छौँ।’
साथै उनले नेपालको विषयलाई लिएर भारतमा बस्ने कुनै पनि भारतीय नागरिकको मनमा कुनै पनि किसिमको कटुता उत्पन्न हुन नसक्ने दोहोर्याउँदै भने, ‘हाम्रो यति गहिरो सम्बन्ध नेपालसँग छ। हामी मिलेर बस्दै यी सबै समस्याको समाधान गर्नेछौँ।’
नेपाल र भारतबीचको सीमा विवादको विषयमा सरकारले पटक पटक वार्ताका लागि आग्रह गर्दा पनि भारतीय पक्षले वेवास्ता गर्दै कारोना संक्रमणपछि मात्रै वार्ता हुने भन्दै आएको नेपाल सरकारको दाबी छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय