भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ ।
अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी बृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका अधिकारीहरुका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने दुई हजार ६५० रहेको छ ।
पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना महाराष्ट्र राज्यका, दुई जना दिल्ली र एक जना गुजरात राज्यका रहेका छन् ।
अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यसपछि धेरै गुजरातमा नौ जनाको मृत्यु भएको छ भने तेलङ्गनामा सात जनाको मृत्यु भएको विवरण छ ।
त्यसैगरी मध्य प्रदेश र दिल्ली प्रदेशमा छ÷छ जना, पन्जावमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन÷तीन जना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई÷दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोना भाइरसका कारण एक÷एक जनाको मृत्यु भएको छ ।
कुल सङ्क्रमित दुई हजार ९०२ जना मध्ये ५५ जना विदेशी रहेका छन् ।
सङ्क्रमितको सङ्ख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार महाराष्ट्रमा ४२३ जना सङ्क्रमित भएका छन् ।
दोस्रो धेरै सङ्क्रमित तमिलनाडुमा रहेका छन्, जहाँ ४११ जना सङ्क्रमित भेटिएका छन् । त्यसैगरी दिल्लीमा ३८६ जना, केरलामा २९५ जना, राजस्थानमा १७९ जना र उत्तर प्रदेशमा १७४ जना सङ्क्रमित भेटिएका छन् । अन्य प्रदेशमा पनि सङ्क्रमितहरु रहेका भएपनि अहिलेसम्म त्यहाँको सङ्क्रमित सङ्ख्या न्यून रहेको छ । रासस÷पीटीआई
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय