होटल व्यवसायी महासंघ नेपालले कोभिड–१९ को विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरुबीच विभेद गरेको आरोप लगाउँदै सरकारको नीतिप्रति आपत्ती जनाएको छ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न नाममा तारे होटलमा महंगो शुल्क तिर्न बाध्य पारिएको तर, साना होटलहरुलाई बेवास्ता गरी भेदभावपूर्ण व्यवहार गरिएको आरोेप लगाएको छ।
व्यवसायीहरुले तीनवटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति, नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउन समेत माग गरेका छन्। त्यस्तै महासंघले लकडाउनको अवधीको घरभाडा छुट नभए आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
पत्रकार सम्मेलनमा साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरे।
https://www.facebook.com/himaldainik/videos/576691879906517/?t=35
उनले लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन हुन सक्ने परिस्थिति नभएकोे बताउँदै राज्यले एउटा निश्चित समयसम्मका लागि बिजुली, पानीको महशुलमा १ वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने माग गरे।
त्यसैगरी एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने महासंघको माग छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट देश र जनतालाई सुरक्षित राख्ने रणनीति अपनाउँदै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन आदेशको घोषणा गरेसँगै देशभित्र रहेका सम्पूर्ण होटल व्यवसायदेखि अन्य उद्योग, कलकारखाना बन्द भएका छन्। जसको कारण नीजि क्षेत्रकोे लगानीमा सञ्चालन गरी लाखौँको संख्यामा श्रमिकहरुलाई रोजगारीको अवसर पाएका आम नागरिकको रोजी, रोटी समेत गुम्न पुग्दा देशको आर्थिक स्थितिमा समेत गम्भीर असर परेको छ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय