काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, आवागमन व्यवस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ । नीति तथा कार्यक्रममा कोरोना प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यमा उपत्यकाव्यापी रूपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ ।
बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटोभन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कोरोनाका कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटेल, रेष्टुराँ, सपिङ मल, डेरनाइट मार्केटलगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको शाक्यले बताए ।
कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने पनि उनले बताए । त्यस्तै सम्पदा क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उनले बताए ।
आम नागरिकको दैनिक आवागमनमा भौतिक दूरी कायम राखी सहजता प्रदान गर्न मुख्य सडक, बजार तथा चोकमा फुटपाथ व्यवस्थित तथा चौडा गर्ने नीति महानगरपालिकाले लिएको छ । त्यसका लागि वडा कार्यालयको सक्रियतामा स्थानीय प्रशासनको सहकार्यमा फुटपाथ अतिक्रमण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिने महानगरले उल्लेख गरेको छ । महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय