कोरोना महामारीको मारमा परेका उद्योग, व्यवसायी र सर्वसाधरण करदातालाई लकडाउनकैबीचमा कर विवरणसहित कर दाखिला गर्न सरकारले जारी गरेको ५ दिने सूचनाप्रति कांग्रेस नेता गगनकुमार थापाले तिखो कटाक्ष गरेका छन्।
सामान्य अवस्थामा चैत २५ गतेभित्र बुझाउनु पर्ने फागुनसम्मको मासिक, द्वैमासिक र चौमासिक विवरणसहित कर भुक्तानीका लागि आम करदातालाई अर्थ मन्त्रालयको आन्तरिक राजस्व विभागले जेठ २५ गतेसम्मको समय दिएपछि सरकारको उक्त निर्णयप्रति आलोचना गर्नेहरुमा नेत थापा पनि उभिँदै सरकारका अर्थमन्त्री युवराज खतिवडालाई व्यंग्यवाण प्रहार गरेका छन्।
मंगलबार आफ्नो फेसबुकमार्फत नेता थापाले अर्थशास्त्रको किताबी ज्ञान भएका अर्थमन्त्रीले व्यवसाय कसरी चल्छ भन्नेसम्मको सामान्य ज्ञान पनि नभएको टिप्पणी गरेका छन्।
https://twitter.com/thapagk/status/1267791896576958464
‘अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला, २ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको !! अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ कोरोना संक्रमणको डर नहुने रहेछ!! विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो!’ थापाले भनेका छन्।
सरकारले चैत ११ गतेदेखि विश्वव्यापी महामारीको संक्रमणबाट देश र जनतालाई जोगाउने उद्देश्यले जारी गरेको देशव्यापी लकडाउन आदेशलाई छैटौँ पटक बढाएर जेठ ३२ गतेसम्म कायम गरेको छ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय