विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरसको त्रासमा सरकारले चैत ११ गतेदेखि लकडाउन आदेश जारी गरेलगत्तै देशका सबै क्षेत्र आक्रन्त भइरहेका बेला पूर्वाञ्चलका कल कारखाना भने फरक शैलीमा सञ्चालन भइरहेका छन्।
दैनिक उपभोग्य सामाग्री विशेषगरी खाद्य पदार्थ उत्पादन गर्ने ७ वटा कारखानाका मजदूरहरु बन्दाबन्दीको समयमा पनि आफ्नै घरबाट आउ जाउ गरेर उद्योग सञ्चालन गरी औद्योगिक नगरीका रुपमा परिचित विराटनरको परिचयलाई कायम राख्न सफल भएका छन्।
विराटनगरको दुहबी नगरपालिकामा सञ्चालित चाउचाउ, बिस्कुट र पेय पदार्थ उत्पादन गर्ने कारखानामा १२ सय भन्दा बढी मजदुर कार्यरत छन्। त्यी सबैमा काम गर्ने मजदूरहरु हरेकदिन घरवाटै आउ जाउ गर्दछन् र उत्पादन कार्यलाई सुचारु राखेका छन्।
दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले मजदूरहरुको दैनिकी धान्न र बजारमा दैनिक उपभोग्य वस्तु र खाद्यन्न अभाव हुन नदिन सबै कारखाना पूर्ण क्षमतामा सञ्चालन गरिएको बताए।
उनले चाउचाउ, बिस्कुट, पेय पदार्थ उच्पादन र राइस मिलहरु लक डाउनको अबधिमा कुनै दिनपनि बन्द नभएको जानकारी दिए।
‘कारखाना बन्द गर्दा आम उपभोक्ता मात्र होइन स्वयं मजदूर परिवारको समेत बिचल्ली हुन्छ भनेर हामी शुरुदेखि नै सचेत थियौ र कुनै दिन बन्द हुन दिएनौ,’ गच्छदारले भने।
गच्छदारका अनुसार, त्यस क्षेत्रका कल कारखानाले संक्रमणबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकलको पालना सहित सावधानी अपनाउँदै आएको र सम्बन्धित वडाले साप्ताहिक रुपमा अनुगमन गर्दै आएको पनि बताए।
त्यस क्षेत्रमा रमपम चाउचाउका उत्पादन एसियनथाई फुडस प्रा. लि.ले दैनिक ४५ हजार कार्टुन चाउचाउ उत्पादन गर्दै आएको छ। जसमा करिब साढे चार सय मजदूरले दैनिक तीन सिफ्टमा घरबाटै आउ जाउ गरेर काम गर्दै आएका छन।
त्यसैगरी एशियन बिस्कुट र बेभरेजले दैनिक ३ सय मजदूर राखेर काम गरिरहेको छ। क्वालिटि बिस्कुट, क्वालिटी थाइफुड्स, झापाको मनसा थाइफुडसले पनि ४ सय ४५ मजदूर कजाई रहेका छन्।
दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सबै कारखानामा घरबाटै मजदुरहरु आउजाउ गरेर काम भैरहेको र कारखानाको सम्बन्धित वडा कार्यालयले अनुगमन गरिरहेकोले कुनै समस्या नरहेको जानकारी दिए।
‘मजदूरहरु सावधानीपूर्वक घरैबाट आउजाउ गर्छन्। कारखानाहरुले सरकारले तोकेको स्वास्थ्य प्रोटोकलपालना गरेका छन। कारखानामा भारतीय नागरिकलाई काममा नलगाइएको र ४, ५ किलोमिटरको दुरीसम्मका मजदूर घरैबाट आउ जाउ गर्छन,’ न्यौपानेले भने।
लक डाउनले सबैभन्दा बढी बिपन्न मजदूरहरुको परिवार बिचल्ली हुने स्थिती देखिएका कारण आफुहरुको पहिलो प्राथामिकता खाद्यन्न उत्पादनसँग सम्बन्धित कारखाना संचालन गर्ने र दोश्रो चरणमा अन्य स्टिल लगायतका ठुला कारखाना सञ्चालन गर्ने तयारी भैरहेको उनले बताए।
मेयर गच्छदारले आफनो नगरपालिका क्षेत्रभित्र बस्ने ११ हजार भन्दा बढी मोरङ जिल्ला बाहिरका मजदूरलाई तेश्रो चरणको राहत बाँडने र सबैको आरडिटि , पिसिआएर चेक गर्ने काम शुरु भएको जानकारी दिए।
‘नगरपालिका भित्रका बासिन्दालाई बिभेद गर्न मिल्दैन,’ उनले थप्दै भने ‘सरकारले निर्देशन दिन्छ काम गर्दैन। आर्थिक सहयोग पनि गरेन, भ्याएसम्म आफनै आर्थिक श्रोतबाट त्यी सबै काम गर्ने तयारीमा आफूहरुले काम अघि बढाएका छौँ।’
यो साता विराटनगरका सबै ठूला कारखाना सञ्चालन गर्ने तयारीमा कारखानाहरु रहेको र आफूहरुले नियमित सहयोग गरिरहेको मेयर गच्छदारले जानकारी दिए।
कोरोना भाइरसको त्रासमा दैनिक गतिविधि प्रभावित भइरहेको बेलामा पनि विराटनगरस्थित उद्योग, कल कारखानाले दैनिक उत्पादन सुचारु गरेपछि त्यसबाट राज्य कोषमा राजस्वसँगै मजदूरहरुको रोजिरोटीको समस्या पनि नरहने र बजारमा उभोग्य सामाग्रीको अभाव पनि हुन नदिने कार्यमा योगदान पुगेको छ।
दुई महिनाको लक डाउनले सिकाएको पाठबाट आफूहरु कडाइका साथ स्वास्थ्य प्रोटोकलको मापदण्ड पुरा गरेर सबै कारखाना पूर्ववत अवस्थामा सञ्चालन गर्ने तयारीमा रहेको गच्छदारको भनाई छ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय