सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई खुकुलो बनाउदै केहि क्षेत्रलाई खुल्ला गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले नीजि सवारी साधनहरु जोरबिजोर प्रणालीका आधारमा चल्ने दिने निर्णय गरेको छ । बैठकले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर्सहरु खुल्ला गर्ने निर्णय गरेको छ । मन्त्री खतिवडाका अनुसार स्वास्थ्यसँग सम्बन्धित क्षेत्र, सबै प्रकारका कृषि र पशुपक्षी व्यवसाय, उत्पादनदेखि बिक्रीवितरणसम्मको श्रृंखला खुला गरिएको छ । यसअघि अनावश्यक कामका लागि बाहेक पैदल यात्रामा रोक लगाएको सरकारले पैदल यात्रा खुला गरेको छ भने मोटरसाइकल र साइकल चलाउन दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
त्यस्तै कोरोना संक्रमण बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ । खतिवडाका अनुसार निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो। तत्कालका लागि बिहान आठबजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको प्रवक्ता खतिवडाले बताए । सवारीसाधान संचालन र कार्यालय सञ्चालन गर्ने निर्णय असार १ गतेदेखि र अन्य निर्णयहरु बिहीबारदेखि २१ दिनसम्म कायम हुने छ । त्यस्तै यस बर्ष एइइ परिक्षा नलिने निर्णय गर्दै बिद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिई प्रमाणपत्र दिईने खतिवडाले बताए ।
उनले अन्तराष्ट्रिय र आन्तरिक उडान, सीमानाकाबाट आवातजातव, सिनेमाहल, सार्वजनिक पुस्तकालय, धार्मिक स्थलमा भेला हुन निषेध गरिएको बताए । मन्त्रिपरिषद्ले नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन भएको प्रवक्ता खतिवडाले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय