हिमाल दैनिक
कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीबाट आक्रान्त भएका मानिसहरुको आवागमनका लागि विभिन्न देशमा चार्टर्ड उडानको अनुमति दिएको सरकारले यात्रुहरुसँग चार गुणासम्म महंगो भाडा असुल्दा पनि मुकदर्शक बनेर बसेपछि नेपाली कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ। नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले मंगलबार एक विज्ञप्ति जारी महामारीको मारमा परेका स्वदेशभित्र र बाहिर रहेका स्वदेशी तथा विदेशी नागरिकहरुको शोषण गर्नेगरी भएको चार्टर्ड उडान र यसको अनुमति दिनेमाथि कारबाही गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै नेता भट्टराईले कोरोना भाइरसको विश्वव्यापी महाव्याधीले विश्वभरी नै असर गरिरहेका बेला केही निजि ट्राभल्स कम्पनी पोस्ने मनसायले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायुसेवा निगमको जहाज चार्टर्ड उडान गरेको आरोप लगाएका छन्। ‘मानिसहरुले रोजगारी गुमाएको र पेशा÷व्यवसाय संकटमा परेको अहिलेको अवस्थामा सरकारले नै सक्रियता देखाएर सस्तोमा उडान गर्नुपर्ने हो। तर, तोकिएको भाडादर भन्दा चार गुणा महङ्गो भाडा असुलेर जापान, हङकङ, भारत, ढाका, अष्ट्रेलिया लगायतका मुलुकमा चार्टर्ड उडान गरिरहेका छन्। यो महामारीको समयमा सामाजिक उत्तरदायित्वबोध समेत नगरी भएका यस्ता कार्य तत्काल रोक्न म सरकारसँग निम्न अनुसारको माग गर्दछुु,’ उनले भनेका छन्। केही दिनअघि सरकारले नेपालमा अलपत्र रहेका स्वदेशी तथा विदेशी यात्रुका अतिरिक्त वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका नेपाली नागरिकको आवागमनका लागि सरकारले नेपाल वायुसेवा निगम र नीजि वायु सेवालाई चार्टड अनुमति दिने निर्णय गर्दै यात्रुहरुसँग दुईदेखि चार गुणा महंगो भाडा असुलेर विमान कम्पनीलाई भने पूर्ववत भाडा दिएपछि विमान कम्पनी संचालक असन्तुष्ट बनेको समाचार बाहिर आएको छ। नेता भट्टराईले चार्टर्ड उडानका नाममा भएका सबै उडानको अनुसन्धान गरी सरकारको मिलेमतोमा तोकिएको भन्दा महङ्गो शुल्क लिने अनुमति दिने पर्यटन मन्त्रालय, वायु सेवा निगमका अधिकारी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, गृह मन्त्रालय लगायत माथि छानविन गर्न पनि माग गरेका छन्। कांग्रेसले नेपाल वायु सेवा निगमको चार्टर्ड उडान कुन कार्यविधि अनुसार कुन कुन कम्पनीलाई के आधारमा दिएको हो भन्ने जानकारी तत्काल सार्वजनिक गरी महङ्गो भाडा लिएका ट्राभल्स एजेन्सीमाथि छानविन र कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै कुवेत लगायतका केही मुलुकहरुले नेपाली कामदारलाई उनीहरुकै खर्चमा नेपाल फिर्ता गर्ने अनुमति मागिरहेको बताउँदै उनले ४१ दिनदेखि कुवेत सरकारले नेपाली कामदारलाई ट्राभल्स डकुमेट तयार गरी एकै ठाउँमा राखेर नेपाल पठाउन तयारी अवस्थामा रहेपनि सरकारले अझैसम्म किन अनुमति नदिएको भनि प्रश्न गरेका छन्। ‘कि ति नेपाली ल्याउन पनि चार्टर्ड उडानका नाममा कमिसनको खेल सुरु गर्नका लागि रोकिएको हो? तत्काल नेपाल आउन चाहने ति नेपालीहरुलाई फिर्ता ल्याउने अनुमति दिइयोस्,’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update