कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएकोे ठहर गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल आडिटी परिक्षण रोक्न र पीसिआर परिक्षण बढाउन माग गरेको छ।
सोमबार पार्टी केन्दंीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई कोभिड–१९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्वाट जोगाउन बुँदागत सुझाव दिएको छ।
बैठकमा प्रस्तुत एजेण्डाबारे जानकारी दिँदै कांग्रेस नेता रमेश लेखकले अहिलेसम्म जम्मा ०.३४ प्रतिशत पनि परिक्षण पीसिआरबाट हुन नसकेको अवस्थामा तत्काल आडिटी परिक्षण रोकी सबै पीसिआर परिक्षणको संख्या कम्तिमा तीन प्रतिशत पुर्याउन माग गरिएको बताए।
बैठकपछि जारी विज्ञप्ति अनुसार, कांग्रेसले कोरोना परिक्षणका विषयमा सरकारले तयार गरेको निर्देशिका तत्काल संशोधन गरी आरटी–पिसीआर परिक्षणको दायरा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसिआर विधिबाट परिक्षण गरे पश्चात मात्र घर पठाउन, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परिक्षण गर्न, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गर्न माग गरेको छ।
पिसिआर परिक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ।
क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा क्वारेन्टाइन संचालन गरी प्रत्येक क्वारेन्टाइन स्थलमा पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गर्न पनि उसले माग गरेको छ।
कोभिड १९ बाहेक अन्य रोगका सम्बन्धमा खोप, औषधी, प्रतिरोधात्मक, उपचारात्मक सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गर्न माग गरेको कांग्रेसले पछिल्लो समय देशमा बढ्दो आत्महत्या सरकारले जनतामा निभाउन नसकेको अभिभावकीय भूमिकाको कमजोरीको परिणाम भएको दाबी समेत गरेको छ।
‘राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार भइरहनु निर्लज्ताको पराकाष्ठा हो। कोभिड १९ नियन्त्रण गर्न काम गर्न नसकेको सरकार यस कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । नेपाली कांग्रेसको यो बैठक त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गर्दछ। हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ। यस सम्बन्धमा पनि तत्काल सार्वजनिक रुपमा जानकारी गराउन सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था मिलाउन र राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरी राजनीतिक पूर्वाग्रह नराखि वितरण गर्न पनि माग गरेको छ।
साथै विदेशमा अलपत्र रहेका नेपालीहरु सबैलाई राज्यले तत्काल फिर्ता ल्याउन र उनीहरुलाई परिक्षण र उपचारको व्यवस्था गराउन पनि माग गरेको छ।
कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुन पनि कांग्रेसले निर्णय गरेको छ।
यसैगरी कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।
साथै कारोनाको कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ जेठ २६ गते बसेको बैठकको निर्णयहरुः
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय