हिमाल दैनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर राणाले प्रधानमन्त्री केपी ओली धेरै व्यस्त र असाधारण विशेषज्ञता भएकोले सरकारले कोरोना महामारी विरुद्ध ठोस तयारी नगरेको टिप्पणी गरेका छन्। ‘कति नेपाली मरे, कति संक्रमित भए प्रधानमन्त्रीलाई ठ्याक्क थाहा छैन। उहाँ धेरै व्यस्त हुनुहुन्छ। छिमेकको भाइरस कति कडा भनेर जाँच्नु छ, उखान टुक्का झार्नु छ, पार्टीभित्रको विरोधीसँग लड्नु छ, सुरक्षित बस्नु छ,’ अध्यक्ष राणाले मंगलबार थप्दै भने, ‘६२ दिन निसर्त घर बन्दमा बसेका देशबासीलाई गरिनेछ, हुनेछ भने भइहाल्यो।’ उनले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको गज्जबको अक्कल छ। सीमा पार गरेर आउने नागरिकको परीक्षण नेपालको जिम्मा होइन रहेछ, उतैकाले जाँचेर पठाउनु पर्ने रहेछ। महामारीले नेपालीलाई यसै छुदैन भन्ने प्रधानमन्त्रीको अटल विश्वास साँच्चै असाधारण छ। उहाँ आफै विज्ञ, आफै विशेषज्ञ, अनि तयारी किन चाहियो।’ विदेशमा रहेका नेपाली स्वदेश फर्काउन सरकारले कुनै चिन्ता र संकेत नदेखाएको राणाको भनाइ छ। ‘विदेशमा रहेका लाखौं नेपाली मातृभूमि फर्कन आतुर छन्। उतै निश्चिन्त बस्नु, सरकारसँग कुरा गरेको छु, प्रधानमन्त्री यस्तै आश्वासन दिन्छन्,’ उनले भने। राणाले भने, ‘कहिले, कसरी फर्काउने कुनै योजना, टुंगो र चिन्ता छैन। समयमै उद्धार गरिनेछ भन्ने अमूर्त प्रस्तावना, जहाँ छौ त्यही बस नीतिको निरन्तरता कसरी होइन?’
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update