हिमाल दैनिक
प्रम ओलीको लक्ष्य जनसंख्याको २% परिक्षण गर्न ६ कि ९ महिना लगाउने?
pm oli
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको परिक्षणलाई तिब्रता दिँदै विज्ञहरुको सल्लाह बमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परिक्षण विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्। देशवासीका नाममा सोमबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीको नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा सरकारले लिएका कदमहरु सफल भएको दाबी समेत गरे। साथै उनले आपूर्तिका सीमित स्रोत भएका कारण औषधि र स्वास्थ्य उपकरणको खरिदमा सिर्जना भएका केही अप्ठ्याराहरु हल भएको बताउँदै एक मात्र प्रयोगशालाबाट सुरु भएको परिक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट परिक्षण तिब्र बनाइएको बताए। यदि प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सरकारको योजना र स्वास्थ्य मन्त्रालयले लकडाउन आदेश जारी भएपछिको ६३औं दिनसम्ममा आइपुग्दा गरेको संक्रमितहरुको परिक्षण संख्या र गतिको विश्लेषण गर्ने हो भने सरकारले आफ्नो लक्ष्य पुरा गर्न ६ देखि ९ महिना लाग्न सक्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दैनिक रुपमा आयोजित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पछिल्लो समय दुई देखि तीन हजारको संख्यामा पिसिआर टेष्ट हुँदै आएको छ। प्रवक्ता देवकोटाका अनुसार, विगत २४ घण्टामा २ हजार ९ सय ४ जनाको पिसिआर परिक्षण भएको छ भने आइतबार र सोमबारको अनुपात पनि दुई हजारदेखि तीन हजार भन्दा कम नै रहेको छ। अर्थात अहिलेसम्म सरकारले देशभरी जम्मा ५१ हजार ६ सय ८२ जनाको पिसिआर परिक्षण गरेको छ भने विश्व स्वास्थ्य संगठनले समेत विश्वसनीयतामाथि प्रश्न उठाएको आडिटी परिक्षण ९५ हजारको पुगेको छ। यदि सरकारले अहिले जारी राखेको परिक्षणको गतिमा प्रधानमन्त्री ओलीले राखेको लक्ष्य हाँसिल गर्न कम्तिमा ६ देखि नौ महिना लाग्ने छ। अर्थात प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको योजना अनुसार कुल जनसंख्या २ करोड ९० लाख ८० को दुई प्रतिशत परिक्षण गर्ने हो भने देशभरीबाट कुल ५ लाख ८१ हजार ६ सयको परिक्षण गर्नु पर्नेछ। आजसम्म कुल जनसंख्याको ०.१७ प्रतिशत अर्थात ५१ हजार ६ सय ८२ जनाको पिसिआर परिक्षण भइसकेको छ। जुन कम्तिमा दुई प्रतिशत जनसंख्याको परिक्षण लक्ष्यको करिब ९ प्रतिशत हो। यो तथ्यांक कटाउँदा अझै पनि सरकारले ५ लाख ५० हजारको हाराहारीमा परिक्षण गर्न बाँकी नै छ। कोरोना भाइरस संक्रमणबारे दैनिक रुपमा स्वास्थ्य मन्त्रालयले गर्दै आएको पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएको तथ्यांक र प्रवक्ता विकास देवकोटाले सार्वजनिक गरेको मृतकको संख्याबारे प्रधानमन्त्री ओलीले एकघण्टा पछि गरेको सम्बोधनमा कुनै उल्लेख नगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा तीन जना भन्न भ्याए। जब कि स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको जानकारी अनुसार, जेठ ४ गते विरगञ्जस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएका बारा जिल्ला निवासी ७० वर्षीय बृद्धको स्वाव परिक्षणमा कोरोना भाइरस पुष्टि भएको छ। उपचारका क्रममा निधन भएका बृद्धको स्वाव परिक्षण गरी संक्रमण पुष्टि गर्न र समेत ११ दिन लगाएको सरकार र यसको नेतृत्वले संक्रमणको नियन्त्रण, परिक्षण लगायत अन्य विषयमा कति विश्वसनीयता होला त्यो आफैमा रोचक बनेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update