प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै लकडाउन गरेकाले मानवीय क्षति र संक्रमण नियन्त्रण गर्न सफल भएको दावी गरेका छन् ।
सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदमबारे राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रारम्भिक दिनमा तयारीमा सरकार केही अलमल भएपनि अहिले सफल भएको दावी गरेका हुन् । समयमै गरेको लकडाउन, समयमै गरेको सिमा तथा एयरर्पोट बन्दले महामारीबाट हुने क्षति जोगाएको, संक्रमित शिशुदेखि बृद्धसम्म उपचारपछि फर्कनु सरकारको सफलता भएको पनि उनले बताए ।
उनले भनेका छन्, 'यस महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा हामीले लिएका कदमहरु सफल भएका छन् । लकडाउनले जीवनलाई असहज त बनाएको छ, तर यसले सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र सम्पर्कित व्यक्ति पत्ता लगाउन मद्दत पु-याएको छ ।' उनले थप्दै भने,' समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णय र समयमै तय गरिएको अस्पताल सेवा सञ्चालन कार्यविधिको तर्जुमा र कार्यान्वयन लगायतका कदमहरुले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको छ । यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिइनु पर्छ ।'
नेपालमा महामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था नरहेको भन्दै उहाले कोरोना विरुद्धको लडाई सरकार सचेत भएको जिकिर गरे । उनले प्रत्येक स्थानीय तहलाई कोभिड १९ सँग लडन आवश्यक सामग्री उपलब्ध गराई प्रदेश र स्थानीय तहमा समन्वय बढाइने बताए ।
यस्तै बन्द स्थानमा रहेका होटल र सार्वजनिक स्थललाई क्वारेन्टाइन बनाइने योजना रहेको बताउँदै महामारी विस्तार भएको स्थानलाई सिल गरी सो स्थानमा द्रुत गतिमा परीक्षण गरिने उनले बताए । प्रधानमन्त्री ओलीले विभिन्न मुलुकमा रहेका नेपालीलाई कोरोना महामारीको असरबाट जोगाएर स्वदेश फर्काउन सरकारले विशेष आदेश जारी गर्न लागेको पनि जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भर्चुअल कक्षा व्यवस्थापन गरी नयाँ शैक्षिक सत्र सुरु हुने बताए । त्यस्तै एसइइका बारेमा पनि छिटै निर्णय गरिने बताए । उनले कोरोनासँग लडाईँमा संलग्नलाई यो अवस्थामा खेलेको भूमिकाको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गरिने उल्लेख गरे ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय