नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्ने विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोन वार्ता गरेका छन्।
प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका सभापति देउवाले आइतबार बिहानदेखि पूर्व प्रधानमन्त्रीहरुलाई फोन गरी कोरोना भाइरसबाट नेपाल र नेपाली जनतालाई जोगाउन एक्यवद्धताका लागि अपिल गरेको देउवाका सहयोगी भानु देउवाले बताए।
विदेशबाट फर्किएका केही नेपाली नागरिकहरुमा मात्रै संक्रमण देखिएकोमा शनिबार कैलालीमा संक्रमितकै एक आफन्तमा समेत कोरोना भाइरसको पोजेटिभ लक्षणसहितको संक्रमण थपिएर संक्रमितको संख्या ९ पुगेपछि आम जनतामा चिन्ता बढेको थियो।
विश्व स्वास्थ्य संगठनले नेपालको उक्त संक्रमण पश्चात नेपालको अवस्था पनि दोस्रो चरणमा प्रवेश गरेको जनाउ दिएपछि सभापति देउवाले आइतबार पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पूर्व प्रधानन्यायाधीश तथा निर्वाचन सम्पन्न गर्नका लागि गठित अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन सम्वाद गरेका थिए।
पूर्व प्रधानमन्त्रीहरुसँगको सम्वादपछि देउवाले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको छु।’
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय