हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अत्यावश्यक सामाग्री खरिद प्रक्रियामा भएको अनियमितताको गतिविधिमा संलग्न दोषी व्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण दिएको आशंका व्यक्त गरेका छन्। करिब चार महिनाअघि चीनको बुहानबाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई सुरक्षित राख्ने बहानामा सरकारले हालै चीनबाट खरिद गरेको अत्यावश्यक सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेकै बेला प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले यस्तो आशंका व्यक्त गरेका हुन्। मेडिकल सामाग्री खरिद प्रकरणका विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक भइसकेको बताउँदै देउवाले यस्तो गम्भीर विषयमा निश्पक्ष अुसन्धानमा ढिलाइ र ढाकछोपको प्रयत्न भइरहेको आरोप पनि लगाएका छन्। शुक्रबार एक विज्ञप्ति मार्फत देउवाले भनेका छन्, ‘यो प्रकरणको निश्पक्ष अनुसन्धान गर्न ढिलाई गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोलनेहरुलाई हतोत्साहित गर्न खोजिएको विषयलाई गम्भीरतापूर्वक लिएर यो वक्तव्य जारी गरेको छु।’ देउवाले कोरोना भाइरसको जखिमबाट देश र जनतालाई जोगाउने सरकारको कदमप्रति आफू र आफ्नो पार्टीले साथ दिँदै र हरसम्भव सघाउँदै आएको स्पष्ट पारेका छन्। देउवाले युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाव दिनुका अतिरिक्त सरकारले धैर्यता, पारदर्शीता र विधि प्रक्रियाको पालना गर्न सचेत गराएपनि अत्यावश्यक मेडिकल सामाग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको आरोप लगाएका छन्। ‘अत्यावश्यक सामाग्री खरिदमा ढिलाई, टेण्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भष्टाचार एवं विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित कमसल सामाग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफी योग्य छैन। यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि एकमात्र उपायका रुपमा देखिएको लकडाउनको अवस्थालाई सभापति देउवाले एक ढंगले बन्द समाजको स्थिति बताउँदै यस्तो बेला पनि भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातारणलाई दृष्टिगत गदैृ सम्बन्धित संवैधानिक निकायले विशेष चनाखो हुनु पर्नेमा जोड दिएका छन्। ‘अतः अपारदर्शी ढंगले भएको सामाग्री खरिद प्रकरणबारे प्रकाशित समाचारलाई दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कारबाहीको प्रक्रिया अघि बढाउन जरुरी छ,’ उनले भनेका छन्। लकडाउनको प्रतिकूल अवस्थामा पनि संचार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गरिरहेको बताउँदै देउवाले यस्तो बेला राज्यको चौथो अंगको भूमिकालाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद भएको बताएका छन्। साथै उनले आफ्नो पार्टी सबै खाले अनियमितता र व्यथितिको विरुद्ध निरन्तर उभिने प्रतिबद्धतासँगै संकटविरुद्ध जुध्न निरन्तर सरकारको साथमा रहने आश्वासन पनि दिएका छन्।
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update