प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा आज जारीसन्देशमा भूकम्प स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आग्रह गरेका हुन् ।
पाँचाै भूकम्प स्मृति दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिएकाे सन्देश
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौं । यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा छौं । त्यसैका कारण विगत एक महिनादेखि सिंगो देश लकडाउनमा रहन बाध्य भएको छ । लकडाउनका कारण पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरुमा गम्भीर असर परेको सर्वविदितै छ । मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाईँमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौं । सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाईंमा विजयी हुनेछौं ।
हामीले सुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्यहरु गर्दै आएका छौं । यसबीचमा देखापरेका जुनसुकै समस्याहरुलाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौं । सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब दुई लाख मानिसले ज्यान गुमाउनुपरेको भए तापनि हामीकहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन । यस निम्ति हामीले समयमै चालेका कदमहरुको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको एकता र समझदारी मुख्य कारक रहेको छ ।
यसरी विषम परिस्थितिका बीच अनेकन् दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।
भूकम्पपछिको राहत, उद्दार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काममा अघि बढेझैं सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाईंमा एकताबद्ध हुन म फेरि सबैमा आग्रह गर्दछु ।
अहिले लकडाउनका कारण सिंगो अर्थतन्त्र ठप्पप्रायः नै रहेको छ । यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन । यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु पनि प्रभावित हुनपुगेका छन् । आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अबरुद्ध पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ । पुनर्निर्माण कार्यमा कुनै ढिलाई नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गंभीर र संवेदनशील छ ।
भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्यहरुलाई पनि हामी योजनाबद्ध ढंगले टुंगोमा पुर्याउन/सम्पन्न गर्न सफल हुनेछौं ।
धन्यवाद ।
केपी शर्मा ओली
प्रधानमन्त्री
१२ बैशाख २०७७
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय