राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको बताएको छ ।
सोमबार राप्रपाका अध्यक्षहरु पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रेस बिज्ञप्ति जारी गर्दै कोभिड–१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको दुई अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरित रहेको बताइएको छ।
'राजनीतिक दल सन्बन्धि अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो संभावना देखिन्छ ।' बिज्ञप्तिमा भनिएको छ।
राप्रपा अध्यक्षहरुले संवैधानिक परिषद सम्बन्धि अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको बताए ।
राप्रपाले संभावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्य माथि आईपर्न सक्ने गंभीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरु तत्काल फिर्ता लिन सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गरेको छ ।
त्यस्तै कोरोना भाईरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न समेत सरकार र नेकपालाई राप्रपा आग्रह गरेको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय