हिमाल दैनिक
साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा देखिएको बताएका छन्। उनले एक प्रेस बिज्ञप्ति मार्फत सरकारले चालेको अनिष्टकारी कदम तुरुन्त फिर्ता लिन माग गरेका छन्। ' झण्डै दुई-तिहाई जनमत पाएर शासन गरिरहेको सरकारले गत दुई वर्षभन्दा बढी समयमा जनतालाई काण्डैकाण्डको ठेली दिएर आम विश्वास गुमाएपछि, आफूलाई सत्तामा कायम राख्न प्रधानमन्त्रीमा स्पष्टत: निरंकुश, व्यक्तिवादी सोच हावि भएको देखिन्छ।'मिश्रले भनेका छन्, 'दुबै अध्यादेश प्रधानमन्त्री ओलीद्वारा आफ्नै पार्टीका अर्का अध्यक्ष तथा शीर्ष नेतृत्वसँग समेत छलफल नगरी छापामार शैलीमा मन्त्रीपरिषद्को बैठकमा पेश गरिएको थियो।' देश कोरोनाभाइरस संक्रमणका कारण कठिन र अनिश्चयको परिस्थितिबाट गुज्रिरहेको अवस्थामा प्रधानमन्त्रीबाट थोरैमात्र मानवीय विवेक र राजकीय जिम्मेवारीको वोध भएको नेताले गर्नै नसक्ने काम गरेको बताए। उनले संसदमा बलियो जनमत हुँदाहुँदै संसदबाट नभइ पार्टी फूट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौँको लोकतान्त्रिक संघर्षकै उपहास भएको उल्लेख गरेका छन् । उनले लोकतान्त्रिक पद्दतिको आत्मा मानिने शक्ति पृथकिकरणको मान्यतामाथिको नाङ्गो आक्रमण भएको दाबी गरेका छन्। कोरोनाले उत्पन्न विपद्का बेला समेत चरम भ्रष्टाचार हुँदा र सरकारले गरिरहेको नेतृत्व बढ्दोरूपमा विफल देखिँदै जाँदा राजनीतिक स्थिरतामा आँच पुऱ्याउन हुँदैन भनेर जनताले प्रधानमन्त्रीलाई दिएको साथको घोर अपमान भएको बताए । 'सिँगो नेपाली राजनीतिक वृत्तमाथि नै आम जनमानसमा चरम अविश्वास बढ्दै गएको बेला सरकारले ल्याएको उक्त अध्यादेशले नेपालको लोकतन्त्रलाई नै संकटतर्फ उन्मुख गर्न सक्छ। यसले आफ्नो असक्षमता र अकर्मण्यता छोप्न स्थापित संस्था तथा लोकतन्त्रका मूल्यमान्यतामाथि प्रहार गर्ने पुरानै नेपाली राजनीतिको शैलीकाे पुनरावृत्ति गरेको छ।' बिज्ञप्तिमा भनिएको छ,'आज जे भएको छ त्यो तत्कालको कदमको नतिजामात्र नभएर नेपालमा दशकौँदेखि देखिएको स्वार्थलिप्त, गैरजिम्मेवार, विकृत, विसंगतिपूर्ण, राष्ट्रघाती राजनीतिको परिणाम हो।' साझा पार्टीले यो परिस्थितिलाई बदल्नका लागि आफ्नो, आफ्नो सन्तान र मातृभूमीको हित र रक्षाका लागि सबै राजनीतिकर्मी तथा आम नेपालीहरूलाई आ-आफ्ना राजनीतिक मतभेद छोडेर एक जुट हुन पनि साझा पार्टी हार्दिक अपील गरेको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update