समयमै आवश्यक सजगता र तयारीमा सरकारले ध्यान नदिँदा कोरोना भाइरसको संक्रमण नेपालमा दोस्रो चरणमा प्रवेश गरेको बताउँदै नेपाली कांग्रेसले स्थितिलाई गम्भीरतापूर्वक लिएर तत्काल परिक्षणको दायरा बढाएर युद्धस्तरमा काम गर्न सरकारसँग आग्रह गरेको छ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले विद्यमान अवस्थाबारे समिक्षा गर्दै १३ बुँदे निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्ति अनुसार, बैठकले कोरोनाको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समिक्षा गरेको छ।
जसमा भनिएको छ, ‘समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद रूपमा लिंदै बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परिक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको छ,’ विज्ञप्तिको पहिलो बुँदामा भनिएको छ।
संघीय संसदमा विपक्षी दलका प्रमुख सचेतक तथा राष्ट्रिय सभामा दलको नेतासहितको बैठकले संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने प्रतिबद्धता दोहोर्याएको छ।
स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वाससाथ कांग्रेसले देशभरिका स्वास्थकर्र्मीहरुप्रति उच्च सम्मान प्रकट गरेको बताइएको छ।
स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि अतिआवश्यक पीपिई, परिक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोबैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न पनि सरकारसँग माग गरेको छ।
यसअघि सरकारले चीनबाट खरिद गरेको मेडिकल सामाग्रीमा आर्थिक अनियमितता र गुणस्तरको प्रश्न उठेपछि सरकारले उक्त निजी कम्पनीसँगको हतासको सम्झौता रद्द गर्दा मेडिकल सामाग्रीको अभाव रहेको छ।
स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न कांग्रेसले माग गर्दै उक्त विवादस्पद खरिद प्रकरणबारे अनिवार्य छानवीन र कार्वाहीको बिषयमा ढिलाइ नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनि गरेको छ।
बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ।
सरकारले दुई हप्तासम्म जारी गरेको लक डाउनको समय थप ८ दिन बढाएकोमा कांग्रेसले उक्त आदेशको पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न सबैसँग अपिल गरेको छ।
देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
तर, आजैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट विश्वका शक्तिशाली राष्ट्रहरु समेत निरिह बनेको अवस्थामा विदेशमा भएका नेपालीलाई स्वदेश ल्याउन सरकार असमर्थ रहेको अभिव्यक्ति दिएका थिए।
साथै ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको बताउँदै कांग्रेसले बेरोजगार र शहरी क्षेत्रमा डेरा गरि बसेका विद्यार्थीहरुका लागि पनि तत्काल राहत घोषणा गर्न सरकारसँग माग गरेको छ।
यसैगरी साना ठुला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पु¥याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज ब्यवहारिक ढंगले ल्याउन बैठकले माग गरेको छ।
अत्यावश्यक खाद्यान्नको आपूर्तिदेखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न÷गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। लक डाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न पनि माग गरेको छ।
बैठकले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पु¥याउन स्थानीय सरकारहरुलाई अपिल गरेको छ।
बिदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेको छ। बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरुको परिवारजनप्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपील गरेको छ।
प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न कांग्रेसले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं बिदेश स्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबै साथीहरूलाई अपील गरेको छ।
साथै कांग्रेसले कोरोनाको जोखिमसँग जुध्न एक विज्ञ समूह निर्माण गरेर निरन्तर समुहको परामर्शमा कार्य गर्ने निर्णय पनि गरेको छ।
पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न बैठकले निर्देशन गरेको छ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय