नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा विभिन्न जिल्लाका प्रशासन प्रमुखहरुसँग टेलिफोन वार्ता गरेका छन्।
चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित व्यक्तिबाट कैलालीमा एक आफन्तजन संक्रमित हुनुकासाथै भारतबाट नेपाल पसेका नेपालीहरुको संख्या पनि अनियन्त्रित हुँदा उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सभापति देउवाले फोन गरेका हुन्।
पूर्व प्रधानमन्त्री तथा संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेको देउवाले सोमबार मुख्यमन्त्री भट्टलाई फोन गरी प्रदेशको अवस्था र प्रदेश सरकारको तर्फबाट जनतालाई सुरक्षित राख्ने विषयमा भइरहेको काम कारबाहीबारे जानकारी लिएको देउवाका सहयोगी भानु देउवाले बताए।
फोन वार्ताका क्रममा देउवाले सुदूरपश्चिमका जिल्लामा विदेशबाट फर्किएका नेपाली नागरिकको स्वास्थय परिक्षण, क्वारेन्टाइनसँगै संक्रमणको उच्च जोखिममा रहेका सीमावर्ती जिल्लामा विशेष ध्यान दिन पनि सुझाव दिँदै यसका लागि आफ्नो दलको तर्फबाट आवश्यक सबै किसिमको सहयोग दिन आफ्नो पार्टी प्रतिबद्ध रहेको जानकारी गराएका थिए।
साथै उनले भारतका विभिन्न शहरबाट पैदल हिँडेर सीमापारी आएर लामो समयसम्म अलपत्र रहेका नेपालीहरुको समुचित व्यवस्थापनका विषयमा प्रदेश सरकारसँगै स्थानीय प्रशासनबाट कुनै कमि हुन नदिन आग्रह गरेका थिए।
यस क्रममा देउवाले कैलाली, कञ्चनपुर, डडेलधुरा, वैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरुसँग पनि टेलिफोन वार्ता गरी त्यी जिल्लामा कोरोना भाइरस संक्रमणबाट जनतालाई जोगाउन अपनाइएका गतिविधिबारे जानकारी लिएका थिए।
साथै उनले सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीहरुको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयको तर्फबाट खेल्नु पर्ने भूमिका खेल्न पनि सुझाव दिएका थिए।
यसका अतिरिक्त सरकारले लामो दुई हप्तादेखि देशव्यापी रुपमा जारी गरेको लकडाउनका कारण गरिब घरपरिवार र मजदूरहरुको दैनिक खर्च व्यवस्थापनका लागि राहत उपलब्ध गराई जनताको जीवन रक्षा गर्न विशेष सक्रियता देखाउन पनि प्रंदेश सरकार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए।
विश्वभर महामारीका रुपमा देखा परेको कोरोना भाइरसविरुद्ध सरकारले चालेको सकारात्मक कदमप्रति सुरुदेखि नै सहमति र समर्थन जनाउँदै आएको कांग्रेस र यसका सभापति देउवाले आइतबार पूर्व प्रधानमन्त्रीहरुसँग पनि टेलिफोन मार्फत वार्ता गरी कोरोना विरुद्ध ऐक्यबद्धताको अपिल गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय