हिमाल दैनिक
सीमामा अलपत्र नेपालीलाई विशेष प्रबन्ध गर्नु आवश्यक छ: नेता बडू
dilendra badu
नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद दिलेन्द्रप्रसाद बडूले सीमा नाकामा पुगेर पनि घर आउन नपाई अलपत्र परेका नेपालीलाई सरकारले फरक र विशेष प्रबन्ध गर्नुपर्ने माग गरेका छन् । नेता बडूले दार्चुला सीमानाकामा विगत एक साताभन्दा बढी समयदेखि अलपत्र परेका दार्चुलाका तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, बाजुरा, डोटी, अछामलगायत जिल्लाका सयौँ नेपाली विचल्लीमा परेको अवस्थाप्रति सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । दार्चुलाको सीमा नाकामा अलपत्र परेका नेपाली स्वदेश आउन नपाएपछि भारत सरकारको स्थानीय प्रशासनको सहयोगमा तत्कालका लागि अस्थायी शिविरमा रहेका र त्यहाँ ठूलो सङ्ख्यामा सँगै बस्नुपर्ने बाध्यताका कारण सङ्क्रमणको जोखिमको सम्भावना झनै बढाएको नेता बडूले जानकारी दिए । व्यवस्थितरूपमा नेपाल प्रवेश गर्न नपाएका कारण जानकारी र अभिलेख बिना नै महाकाली नदीमा पौडी खेलेर, तुइन र ट्युुबबाट ज्यान जोखिममा राखी आउनेको सङ्ख्या निरन्तर बढिरहेको उनले बताए । [pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2020/04/सिमा-नाकामा-अलपत्र-नागरिकहरूका-सम्बन्धमा-प्रेस-विज्ञप्ति-दिलेन्द्र-प्र-बडू.pdf" title="सिमा-नाकामा अलपत्र नागरिकहरूका सम्बन्धमा प्रेस विज्ञप्ति- दिलेन्द्र प्र बडू"] उनले स्थानीय तहहरुमा सुरक्षित क्वारेन्टाइन र आवश्यक स्वास्थ्यकर्मी तथा उनीहरुको व्यक्तिगत सुरक्षा उपकरण तथा स्वास्थ्य परीक्षणका आवश्यक सबै उपकरणको व्यवस्थाका लागि केन्द्र र प्रदेश सरकारले स्थानीय तहहरुमा पर्याप्त साधन स्रोत तथा आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यस प्रयोजनका लागि खर्च हुने गरी नेता बडूले आफूले पाउने पारिश्रमिकको १५ दिन बराबरको रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषको केन्द्रीय खातामा सहयोग गर्ने निर्णय काँग्रेस संसदीय दलमार्फत घोषणा भइसकेको र १५ दिनको पारिश्रमिक थप गरी एक महिनाको पारिश्रमिक रकम सोही कोषमा सहयोग गर्ने निर्णय सार्वजनिक गर्नुभएको छ । उनले दार्चुलाका लागि ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित रकम रु छ करोडमध्ये खर्च हुन बाँकी रकम आजैका मितिदेखि उल्लेखित कार्यमा प्रयोग हुने गरी कोषमा जम्मा गर्नसमेत आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update