हिमाल दैनिक
ओलीलाई कांग्रेस प्रवक्ता शर्माको प्रश्नः जनताको जीवन प्रधान कि सत्ताको राजनीति?
bishwoprakassharna_himaldainik
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीमा देश र जनता परिरहेको बेला जनताको जीवन बचाउने भन्दा आफ्नो पदको बचाउका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले हठातमा संसदको अधिवेशन अत्य गरेको आरोप लगाएको छ। सत्तारुढ दल नेकपाभित्र अल्पमतमा पर्दै गएका प्रधानमन्त्री ओलीले आफ्नो पद जोगाउन महत्वपूर्ण कार्यसूचिलाई थाती राख्दै संघीय संसदको अधिवेशन अत्यको घोषणा गरेपछि कांग्रेसले उक्त निर्णयप्रति आपत्ति प्रकट गर्दै असहमति व्यक्त गरेको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। ‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन् तर, त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ,’ शर्माले भनेका छन्। सदन अन्त्यको विषयमा सरकारले आफ्नो दलसँग कुनै परामर्श गर्ने वा पूर्व सूचना दिने कार्य नभएको उनले बताएका छन्। ‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ तर, राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ। विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो। तर, अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ,’ शर्माले विज्ञप्तिमा भनेका छन्। साथै उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, ‘जनताको जिवन प्रधान कि सत्ताको राजनीति? सम्माननिय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ।’
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update