नेकपा स्थायी समितिको बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समितिको बैठक छलेर प्रधानमन्त्रीले तत्काल मन्त्रिपरिषद्को बैठक बोलाई आजै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक स्थगित भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओली बीच केहि समयमा वार्ता बस्ने तयारी भईराखेको समितिका एक सदस्यले जानकारी दिए। पार्टी स्थायी कमिटी सदस्य तथा सचिवालय सदस्यहरुको बहुमतले पार्टी र सरकारको नेतृत्व छाड्न दबाब दिएपछि त्यसको बचाउका लागि प्रधानमन्त्री ओलीले बिहिबार हठातमा मन्त्रिपरिषदको बैठक बोलाएर संसदको जारी अधिवेशन आजै साँझ ५ बजेदेखि अन्त्यको निर्णय गरेको छ।
संसदको जारी अधिवेशनमा यदि आफूले पद नछाड्दा आउन सक्ने अविश्वासको प्रस्तावलाई तुहाउन ओलीले अधिवेशन अन्त्य गरी राजनीतिकसँगै संवैधानिक संकटमा देशलाई धकेल्न उद्दत भएका हुन्।
यसअघि प्रधानमन्त्री ओलीले आफूमाथि आएको संकटबाट पार पाउन पटक पटक संवैधानिक र आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि यस्तो निर्णय लिएका हुन्।
ओलीले उक्त कदमले संवैधानिक राष्ट्रपतिलाई पनि राजनीतिको विवादमा तानेको छ।
ओलीले सदन अन्त्य गरी आफ्नो बचाउका लागि आवश्यक परे यसअघि जारी गरेर फिर्ता लिएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेर आफ्नो दल कायम गराउने सम्मको तयारीमा रहेका छन्।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय