पार्टीभित्रको आन्तरिक विवादले निम्त्याएको संकटलाई टार्न प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद अधिवेशन अन्त्यको निर्णय गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवादको उत्कर्षले सरकार नै धरापमा परेपछि प्रधानमन्त्री ओलीले बजेट अधिवेशनका अनगिन्ती विधेयकहरुलाई थाती राख्दै संसद अधिवेशन अन्त्यको बाटो रोजेका हुन्।
पार्टी स्थायी कमिटी सदस्य तथा सचिवालय सदस्यहरुको बहुमतले पार्टी र सरकारको नेतृत्व छाड्न दबाब दिएपछि त्यसको बचाउका लागि प्रधानमन्त्री ओलीले बिहिबार हठातमा मन्त्रिपरिषदको बैठक बोलाएर संसदको जारी अधिवेशन आजै साँझ ५ बजेदेखि अन्त्यको निर्णय गरेको जानकारी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत जनाएका छन्।
संसदको जारी अधिवेशनमा यदि आफूले पद नछाड्दा आउन सक्ने अविश्वासको प्रस्तावलाई तुहाउन ओलीले अधिवेशन अन्त्य गरी राजनीतिकसँगै संवैधानिक संकटमा देशलाई धकेल्न उद्दत भएका हुन्।
यसअघि प्रधानमन्त्री ओलीले आफूमाथि आएको संकटबाट पार पाउन पटक पटक संवैधानिक र आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि यस्तो निर्णय लिएका हुन्।
ओलीले उक्त कदमले संवैधानिक राष्ट्रपतिलाई पनि राजनीतिको विवादमा तानेको छ।
ओलीले सदन अन्त्य गरी आफ्नो बचाउका लागि आवश्यक परे यसअघि जारी गरेर फिर्ता लिएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेर आफ्नो दल कायम गराउने सम्मको तयारीमा रहेका छन्।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय